मुगुको सदरमुकाम पहिरोको उच्च जोखीममा



न्युज अफ नेपाल, मुगु । मुगुको हुलम खोलामा वर्षाको समयमा जाने बाढी र पहिरोका कारण सदरमुकाम गमगढी बजार पहिरोको उच्च जोखीममा छ ।

हुलमखोलामा आउने बाढी तथा पहिरोका कारण आसपासका हजारौं रोपनी खेतीयोग्य जमीन वर्षेनी कटान हुँदै गएका छन् । हुलमखोला भन्दा ४ सय मिटर माथि मात्र रहेको गमगढी बजारको बीचबीचमा जमिन भासिएर चिरा चिरा पर्न थालेको छ ।

पहिरो रोकथामका लागि जिल्लामा रहेको दैबी प्रकोप उद्धार समिती लगायत विभिन्न गैरसरकारी संघ सस्थाले काम गर्दै आईरहेको भएपनि गमगढी बजार पहिरोको जोखिममा रहेकोबारे सरोकारवालाहरुको एकरुकता देखिँदैन। छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीले पहिरो रोकथाम पहलका लागि १ करोड रकम बिनियोजन गरिएको बताए । उनले हाल अनुगमन गरिसकेकोले छिट्टै यसबारे काम थालनीगरिने बताए ।

पहिरो रोकथामका लागि पहिलो चरणमा बृक्षारोपण गरिने र दोस्रो चरणमा तारबार लगाउने निर्णय भएको उनले बताएका छन् । दश वर्ष अघि पनि बाढी आएको र बाढीले हजारौं रोपनी खेतीयोग्य जमिन बगाएको स्मरण गर्दै यसपटक त्यसो हुन नदिन आफुहरु सचेत रहेको एक स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्