धुलिखेलमा खुल्यो गरिब लक्षित निःशुल्क कपडा बैंक



भगवती तिमल्सिना, काभ्रे ।
धुलिखेलमा असहाय तथा विपन्न बर्गलाई लक्षित गरि शनिवार निःशुल्क कपडा बैंकको उद्घाटन गरियो । आनन्द मार्ग बस्त्र भण्डारको नाम दिईएको उक्त बैंक आनन्दमार्गीहरुको पहलमा खुलेको हो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गर्नुभएको उक्त बैंकमा पैसा नभएर कपडा जम्मा गरिन्छ । पैसा जम्मा गर्ने बैंकमा जम्मा गर्ने र ऋण लिने दुबैलाई ब्याजको कारोबार गरिन्छ । तर यो कपडा बैकमा निःशुल्क कपडा दिने र लिने काम हुन्छ ।

कपडा बैकको मुल नारा नै चाहिन्छ लानुहोस, चाहिदैन ल्याउनुहोस भन्ने रहेको छ । उक्त बैैकमा सफा, नच्यातिएको, आफुलाई आवश्यक नभएको, तर अरुलाई आवश्यक हुने कपडा ल्याएर दशैंका मुखमा गरिब दुःखीलाई सहयोग गर्ने उदेश्यले यो बैंकको शुरुवात गरिएको बैंकका संयोजक निलकण्ठ माकजुले जानकारी गराउनुभयो ।

आनन्दमार्गी प्रचारक संघले धुलिखेल भन्दा पहिला अन्यत्र पनि यस्तो बैंक खोली दिनदुखीलाई सहयोग गर्दै आएको र यतिबेला दशैं नजिकिँदै गर्दा गरिब परिवारमा एकसरो कपडा हाल्न पनि धौ धौ पर्ने हुनाले उनीहरुको खुशीको लागि कपडा बैंक खोल्ने सोच बनाएको बेदकण्ठ यगोल बताउनुहुन्छ ।

यो कपडा बैंकलाई निरन्तरता दिन आनन्दमार्गी समूहका सकृय सदस्यहरुले धुलिखेलको सरस्वती बजारमा खोलिएको बैंकमा पालैपालो बसेर कपडा दिने र लिने दुबैको नाम लेखाई उपलब्ध कपडा मध्ये मिलाएर बितरण गर्ने कार्यक्रम रहेको माकजुले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

आनन्द मार्गीले एउटा सटर भाडामा लिई शनिवारै कपडा भण्डारण गरि उद्घाटन लगतै वितरण समेत शुरु गरिसकेको छ । काभे्र, सिन्धुपाल्चोक, दोलखामा समेत यो बैंकबाट सेवा पुर्याउने लक्ष्य लिएको र भविष्यमा तराई भेगमा समेत जाने कार्यक्रम संस्थाको रहेको माकजू बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्