म्याग्दी अपडेट : तीन घर पुरिए, पाँच घर र एउटा विद्यालयमा क्षति, दुई बालिका अझै भेटिएनन्



न्युज अफ नेपाल, म्याग्दी । गएराती परेको अविरल वर्षासँगै आएको बाढीले म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा तीनवटा घर पुरिएका छन् । बगरफाँटको कोटखोलामा आएको बाढीका कारण आठ घर र बुद्ध एकेडेमी विद्यालयका १५ ओटा कक्षाकोठामा पूर्णरुपमा क्षति पुगेको हो ।

बाढीले तीनवटा घर पुरिँदा भाग्ने क्रममा हराएका दुई बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा ध्वस्त बनाएको छ ।

यसैगरी सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएको प्रनाउ मरासिनीले बताउनुभयो ।शनिबार राती ९ बजेदेखि परेको वर्षाले गर्दा बगरफाँटको कोटखोलामा आएको बाढीले मानववस्ती र विद्यालयमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कोटखोलाले परम्परागत धारलाई परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पु¥याएको हो ।

बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ । खेलमैदान र कक्षाकोठामा बाढीले असर गर्दा विद्यालयमा मात्रै झण्डै एक करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

बाढीकै कारण बुद्ध एकेडेमी नजिकै रहेको ब्लक उद्योगमा समेत क्षति पुगेको छ भने स्थानीयको धानखेत पुरिएको छ । कोटखोलामा बाढीले ठूल्ठूला रुख तथा दाउरा, ढुङ्गा, माटो र गेगरसहित आएको लेदोले बेनी–हाँडेभीर–बगरफाँट–सुर्केमेला हुँदै बराङ्जा जाने ग्रामीण सडक अवरुद्ध बनाएको छ ।

अहिले हराइरहेका दुई बालिकाको खोजीकार्य भैरहेको छ भने बाढीबाट विस्थापित र प्रभावित बनेकाहरुलाई उद्दार गर्ने, राहत वितरण र पुनस्र्थापनाको काम भैरहेको बेनपा–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले खोज, उद्दार एवं पीडितको व्यवस्थापनका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्याएको खबरलगत्तै गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले स्थलगत रुपमा अवलोकन गर्नुभएको छ ।

मध्यरातमा आएको बाढीका कारण मानवीयसहित ठूलो परिमाणमा भौतिक क्षति पु¥याएको हुँदा अहिले क्षतिको विवरण सङ्कलनको कार्य भैरहेको छ ।

यसैबीच बाढीका कारण विस्थापित बनेकाहरुलाई खाद्यान्न र बसोबासका लागि अभाव भएकाले रेडक्रस, सहयोगी संघसंस्था, इच्छुक व्यक्तिहरुलाई सहयोग गर्नका लागि स्थानीयवासीले अपिले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्