बाढीका कारण दुई बालिका सम्पर्कविहिन, दुई घरमा क्षति



प्रताप बानियाँ,म्याग्दी । गएराती परेको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको कोटखोलामा आएको बाढीका कारण दुई बालिका सम्पर्कविहिन भएका छन् ।

बेनपा–२, बगरफाँट बस्ने पार्वती परियारको १० वर्षीया छोरी प्रविना परियार र सोही ठाउँ बस्ने अनिता परियारको ६ वर्षीया छोरी अनुस्का परियार सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीका कारण बगरफाँटका रेशम जुग्जाली र विष्णु परियारको एकतले टिनले छाएको तथा ब्लकले बारेको दुईकोठे घर भत्केको प्रहरीले जानकारी दिएको छ ।

खोलामा आएको बाढीले मानववस्तीमा पसेर क्षति पुर्याउन थालेपछि भागदौड हुने क्रममा दुई बालबालिका सम्पर्कविहिन भएको प्रहरीको भनाइ छ । सम्पर्कविहिन बालिकाको खोजी भैरहेको छ भने थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्