चिकित्सा शिक्षा आयोगले माग्यो ९० करोड



काठमाडौं, (नेस)। चिकित्सा शिक्षा आयोगले करिब ९० करोड रुपियाँ बजेट माग गरेको छ। सरकारले श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्ष नियुक्ति गरेको एक साता बित्न नपाउँदै बसेको पहिलो बैठकले विभिन्न आधा दर्जन शीर्षकमा उक्त रकम माग गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको आयोगको पहिलो बैठकमै आफ्नो भवन निर्माण वा खरिद गर्नेलगायतका विषय उठाइएको थियो। नियमावली, कार्यविधि, भत्ता, कार्यालय सञ्चालनलगायतका कार्यक्रम सञ्चालन गर्न उक्त बजेट माग गरेको हो।

प्रधामन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओली केहीबेर बोलेपछि बिदा हुनुभएको थियो। बैठकमा उपस्थित सहअध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैठकमा हाल शिक्षा विकास तथा मानव स्रोत केन्द्रको मातहतमा रहेको तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रको सरकारी भवनमा कार्यालय रहेको छ। ‘पहिलो बैठकमै घरको विषय उठान भएको छ।’ –बैठकमा उपस्थित आयोगका एक सदस्यले नेपाल समाचारपत्रसँग भने।

विद्यार्थी संगठनले मनपरी शुल्क लिने कलेजमाथि कारबाही गर्ने चेतावनी दिएपछि तत्काल शुल्क तोक्नुपर्ने विषयमा आयोगलाई दबाब पर्दै आएको छ।

‘बैठकले आयोगको विभिन्न योजना तयार गर्ने र पुराना कलेजलाई सम्बन्धन दिने विषयमा समेत छलफल भएको थियो। छलफल भयो, तर निर्णय हुन सकेको छैन।

सायद केही दिनमै अध्यक्ष एवं प्रधानमन्त्रीले माइन्युटमा हस्ताक्षर गरेपछि निर्णय सार्वजनिक होला।’ –एक सदस्यले भने। ‘सबै निर्णयका बारेमा अध्यक्षलाई जानकारी दिनुपर्ने भएकाले निर्णय सार्वजनिक हुन केही दिन लाग्न सक्छ।’ –स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्