घटस्थापनामा बिदा दिन आग्रह



काठमाडौं, (नेस)। विगतका सरकारले दिँदै आएको दशैंको बिदामा वर्तमान सरकारले व्यापक कटौती गरेपछि क्षत्री समाज नेपालले घटस्थापनाको बिदा कटौती नगर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

क्षत्री समाज नेपालका केन्द्रीय महासचिव केशबहादुर केसी, केन्द्रीय उपाध्यक्ष खेमकुमारी खड्का, केन्द्रीय सदस्य उद्धव खत्री (बद्री), क्षत्री समाज काठमाडौं जिल्ला अध्यक्ष रिजन खड्का र सचिव देवदूत अधिकारीसहितको टोलीले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर सो ज्ञापनपत्र बुझाएको हो।

८१ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको नेपालमा हिन्दूमात्रको महान् पर्व बडादशैंको नवरात्रिको पहिलो दिन अर्थात् घटस्थापनाको दिनको बिदा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै क्षत्री समाजको टोलीले धार्मिक र ऐतिहासिक महत्व बोकेको घटस्थापनाको दिनमा बिदा दिन मन्त्री भट्टराईसँग आग्रह गरेको हो।

मन्त्री भट्टराईले यसबारे आफूले आवश्यक पहल गर्ने विश्वास दिलाएको क्षत्री समाजका काठमाडौं जिल्ला अध्यक्ष रिजन खडकाले बताए।

प्रतिक्रिया दिनुहोस्