प्रदेश ३ का विद्यालयमा ‘हरित कार्यक्रम’, जन्मदिनमा विरुवा



हेटौंडा । प्रदेश–३ सरकारले प्रदेशभरका सामुदायिक विद्यालयमा बिरुवा रोपेर विशेष कार्यक्रम सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट शनिबार यस्तो कार्यक्रम सुरु गरिएको हो । सरकारले करिब २ लाख खर्च गरेर बिरुवा रोपेको छ । त्यहाँ बगैंचा पनि बनाइएको छ । चन्द्रोदयबाट सुरु भएको कार्यक्रम प्रदेशका सबै सरकारी विद्यालयमा लागु गरिने भएको छ ।

प्रदेश सरकारले सबै विद्यार्थी र अभिभावकलाई जन्मदिनमा बिरुवा उपहार लेनदेन गरेर रोप्ने अभियान थाल्न आग्रह गरेको छ ।
प्रदेशका कतिपय विद्यालयमा अध्ययनरत् विद्यार्थीले अनिवार्यरुपमा एउटा बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत् अतिरिक्त क्रियाकलापअन्तर्गत् परीक्षामा नम्बर थप गर्ने नीति लिएको छ ।

सोही नीतिलाई सकारात्मकरुपले सघाउन ‘विद्यालय हरित कार्यक्रम’ मा प्रदेशको बन मन्त्रालयले १५ डिभिजन कार्यालयमार्फत् १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको प्रदेश बन सचिव शिवकुमार वाग्ले जानकारी दिनुभयो । कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ ।

कार्यक्रम लागु भएका विद्यालयमा विद्यार्थीको संख्याअनुसार वृक्षरोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिनेछ । जिल्लामा रहेका बन कार्यालयमार्फत् इच्छुक विद्यालयले बिरुवा माग गरेपछि बगैंंचा निर्माण गर्ने गरी फलफूलसहित बिरुवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमा अध्ययनसँगै बिरुवा संरक्षणको जिम्मेवारी थपिदिएको छ । प्रदेश सरकारले ‘एक विद्यार्थी–एक बिरुवा’ कार्यक्रम लागु गरेसँगै सामुदायिक विद्यार्थीको काँधमा अब अध्ययनसँगै बिरुवा बचाउने जिम्मेवारी थपिएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि विद्यालयमा एभोकाडो, लिच्ची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नासपाती, हलुवाबेद र रुद्राक्षलगायत फलफूलसहित २ सय बिरुवा रोपिएको डिभिजन बन कार्यालयका सहायक बन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो ।

कृषि पेशाप्रतिको अनिच्छाका कारण विभिन्न भागमा जग्गा बाँझिएको अवस्थामा प्रदेश सरकारले ‘एक विद्यार्थी–एक बिरुवा’ कार्यक्रम अघि सारेको हो । बाँझिएका जग्गामा कृषकलाई फलफूलका बिरुवा लगाउन अभिप्रेरित गर्दै स्थानीयलाई आयआर्जनसँग जोड्न बिरुवा राप्ने अभियान थालिएको हो ।

भौगोलिक अवस्थिति एवम् स्थानीयको मागअनुसार फलफूलका बिरुवा लगाउन लागिएको डिभिजन बन कार्यालयका सहायक बन अधिकृत उपाध्यायले बताउनुभयो । उहाँका अनुसार निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक विद्यालयमा बिरुवा रोपिनेछ । व्यावसायिक कृषिप्रति विद्यार्थीमार्फत् स्थानीयलाई आकर्षित गर्दै बिरुवा रोप्ने र त्यसबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने लक्ष्यअनुरुप बिरुवा वितरण गर्ने तयारी गरिएको छ ।

विविधतायुक्त भौगोलिक अवस्थितिका कारण स्थानअनुसारका फलफूल एवम् अन्य कृषि उत्पादन अघि बढाउने हो भने स्थानीयको आयआर्जनका धेरै सम्भावना रहेको उहाँ बताउनुहुन्छ । प्रदेशमा उत्पादित कृषिजन्य उत्पादन एवम् फलफूलको बजारीकरणमा समस्या नहुने उहाँको दाबी छ ।

‘व्यावसायिक कृषिका माध्यमबाट स्थानीयको जीवनस्तर उठाउने सोचसाथ फलफूलका बिरुवा वितरण र कृषिजन्य उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको हो,’ उहाँले भन्नुभयो ।

वहुवर्षीय गुणस्तरीय बिरुवाको रोपणलाई जनताको आयआर्जनसँग जोडी ‘सुखी नेपाली–समृद्ध नेपाल’ को नारालाई सफल पार्दै नेपाल सरकारले वर्ष २०७६ लाई वृक्षरोपण वर्ष घोषणा गरेअनुरुप यस किसिमको अभियानमा बन कार्यालयले स्थानीय सरकारहरु, समुदायसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको डिभिजन बन कार्यालय मकवानपुरका डिभिजनल बन अधिकृत इमनाथ पौड्यालले बताउनुभयो ।

मन्त्रालयले थालेको कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक वर्ष वृक्षरोपण गर्ने तर प्रतिफल नआउने गरी काम नगर्न निर्देशन दिनुभयो । आयातीत फलफूल नभएर यहीं उत्पादित फलफूल बोटबाट टिपेर खान सकिने अवस्था निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्