भिमसेन मन्दिरका लागि १० लाख रकम जम्मा



ललितपुर । भिमसेन मन्दिर पुनःनिर्माणका लागि सर्वसाधारण नागरिकबाट शनिबार मात्रै करिब १० लाख रुपैयाँ जम्मा भएको छ ।
पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम जुट्ने क्रममा शनिबार आयोजित बृहत पदयात्राका सहभागीहरुबाट सो रकम जम्मा भएको हो । बैशाख १२ गतेको विनाशकारी भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो ।

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भइरहेको भिमसेन मन्दिर पुनःनिर्माणमा सहयोग जुटाउन र नेपाल भ्रमण वर्षको प्रचारात्मक अभियानको रुपमा सो पदयात्रा आयोजना गरिएको थियो । पदयात्रामा सहभागी हुने प्रति व्यक्तिको रजिष्टेशन शुल्क वापत बाट ५ सय रुपैयाँ लिइएको थियो ।

पदयात्रामा सहभागी २ हजार जनाले दिएको ५/५ सय रुपैयाँ बाट सो रकम जम्मा भएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो । ‘रकम जम्मा हुनु मन्दिर पुनःनिर्माणमा सबैको अपनत्व भएको बलियो प्रमाण हो । सबैको अपनत्व हुनुपनि आवश्यक छ । ’ अध्यक्ष महर्जनले भन्नुभयो । ‘पदयात्रामा देखिएको उल्लेखीय सहभागीताले हाम्रो सम्पदा, हामी आफै बनाऔं भन्ने नारालाई सबैले मनैदेखि मनन गरेको रुपमा लिएका छौं । ’

पाटन दरबार क्षेत्रबाट शुरु भएको पदयात्रा ग्वार्को, सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंङ्गमती हुँदै करिब १४ किलोमिटरको यात्रापछि खोकनामा समापन गरिएको थियो । लिच्छविकालीन र मल्लकालीन बस्तीहरुको परिक्रमाबाट ती बस्तीहरु पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छौं । ’ संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले भन्नुभयो ।

पदयात्रामा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, ३ का सांसद् पम्फा भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रदेश ३ का सांसद्द्वय राजकाजी महर्जन, शोभ शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतको सहभागिता रहेको थियो ।

पदयात्राका सहभागीहरुलाई सिद्धिपुर, ठेचो र खोकनामा परम्परागत धिमे बाजा बजाई,नेवारी परम्परा अनुसार टिका लगाई र कोखा(घाटीमा लगाउन दिइने रातो कपडा) दिएर स्वागत गरिएको थियो । पदयात्रामा सहभागी हुनेलाई कुमारी बैङ्कले प्रायोजन गरेको सेतो टिर्शट र खोकनामा नेवाः भोज खुवाइएको बैङ्कका प्रमुख अमिरप्रताप जबराले जानकारी दिनुभयो ।

यस अघि पदयात्राको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले गरेको महत्वपूर्ण प्रयासको रुपमा पदयात्रालाई लिएको धारणा राख्नुभयो । सम्पदाको पुनःनिर्माण गरी बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रा्याउने पदयात्राको उद्देश्य निकै महत्वपूर्ण रहेको पनि बताउँदै मन्त्री भट्टराईले निजी क्षेत्रको साथ र सहयोगमा नै पर्यटन वर्ष सन् २०२० को सार्थकता रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो ‘ललितपुरका उद्यमी व्यवसायी, सम्पदा र संस्कृतिप्रेमी सबैको साथ र सहयोगबाट भिमसेन मन्दिर पुनःनिर्माण थालनी हुनुले सम्पदा निर्माणको क्षेत्रमा एउटा उदाहरण स्थापित गरेको छ । यस कार्य सबैका लागि अनुकरणीय रहेको छ । ’राज्यको प्रयासमा स्थानीयको अपनत्व भएन भने कुनै पनि कार्य दीगो नहुने पनि उहाँको भनाई थियो ।

अध्यक्ष महर्जनका अनुसार मन्दिर पुनःनिर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठबाट १ करोड रुपैयाँ प्राप्त भइसकेको छ । त्यसैगरी ललितपुर महानगरपालिका र प्रदेश नं ३ ले चालू आर्थिक वर्षमा क्रमशः १ करोड र ५० लाख रुपैयाँ विनियोजित गरेको बजेट पुस्तिकामा उल्लेख गरिएको छ ।

विभिन्न दाताहरुबाट ५० लाख रुपैयाँ जुटिसकेको छ । त्यस्तै मन्दिरको छानाको जिम्मा नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका कल्याणकृष्ण ताम्रकार, दाँची इँटा उपलब्ध गराउने जिम्मा दक्षिण बाराही इँटा उद्योगका तर्फबाट तीर्थलाल महर्जन र हिराकाजी महर्जनले जिम्मा लिएको पनि संघले जनाएको छ ।

अन्य दाताहरुबाट प्रतिबद्धता व्यक्त गरे अनुसार अब रकम अभावले मन्दिर पुनःनिर्माण कार्य रोकिने अवस्था अन्त्य भएको पनि संघका महासचिव मनोजबहादुर न्याछ्योले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्