स्वतन्त्र सेनानी गुप्ताको निधन



विराटनगर । वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर १५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उहाँको शुक्रबार साँझ निधन भएको थियो ।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लाग्नुभएका उहाँले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाउनु भएको थियो । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्