म्याग्दीमा फोरजी इन्टरनेट सेवा विस्तारको तयारी सुरु



प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा सञ्चालनको तयारी सुरु भएको छ । म्याग्दीवासीलाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने गरी जिल्लामा फोरजी सेवा सञ्चालन गर्न उपकरण जडानको कार्य अगाडि बढाइएको हो ।

पहिलो चरणमा म्याग्दीको चार ठाउँमा रहेका टेलिकमको बिटिएस टावरमा फोरजी सेवा सञ्चालन गर्नका लागि अहिले उपकरण जडानको कार्य भैरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ । सदरमुकाम बेनीबजारस्थित टेलिकमको आफ्नै कार्यालय र क्याम्पसचोक, बेनी नगरपालिकाको पुलाचौर र मालिका गाउँपालिकाको देवीस्थानको रुन्मामा रहेको टावरमार्फत फोरजी सेवा सञ्चालन गरिने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।

क्याम्पसचोकमा रहेको बिटिएस टावरमा उपकरण जडानको कार्य सकिएको छ भने कार्यालय परिसरमा जडान कार्य भैरहेको उहाँले जानकारी दिनुभएको छ । यसैगरी पुलाचौरको टावर र रुन्माको टावरका लागि पनि उपकरण जडानका लागि आवश्यक पर्ने सामानहरु पठाइसकिएको हुँदा जडानको क्रममा रहेको छ । तत्कालका लागि साविक धौलागिरि अञ्चलको ४ जिल्लाका ३५ ओटा टेलिकमका बिटिएस टावरमा फोरजी सेवा जडान गरी सञ्चालन गर्न लागिएको टेलिकमको भनाइ छ ।

म्याग्दीको बेनीमा दशैं अगाडि नै टेलिकमको फोरजी सेवा सञ्चालन गर्न अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ । यसैबीच बजारी क्षेत्रमा टेलिकमको उच्च गतिको फाइबर नेट (एफटिटिएच) सेवाको विस्तार कार्य समेत भैरहेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले जानकारी दिनुभयो । फाइबरबाट इन्टरनेट र टेलिफोनका साथै निकट भविष्यमा टेलिभिजन पनि हेर्न मिल्ने हुँदा अहिले फाइबर बिच्छ्याउने कार्य भैरहेको उहाँले बताउनुभयो । टेलिकमले फाइबर नेट नयाँ ग्राहकहरुलाई दशैं अगाडि नै उपलब्ध गराउने जानकारी दिएको छ ।

आगामी एक वर्षभित्र देशका ७७ ओटै जिल्लामा इन्टरनेटको फोरजी सेवा विस्तार गर्ने सरकारको लक्ष्य अनुसार फोरजी सञ्चालनको आवश्यक तयारी अघि बढेको बताइएको छ । फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ । विदेशी मुलुकहरुमा फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा सञ्चालन गर्न लागिएको हो ।
टेलिकमले भने विद्युत सेवा पुगेका ठाउँमा इन्टरनेट सेवा सुरु गर्ने, टुजी भएकोमा थ्रीजी र थ्रीजी भएको बिटिएसमा फोरजी सेवा उपलब्ध गराउने गरी काम गरिरहेको छ ।

म्याग्दी जिल्लामा टेलिकमले आगामी ६ महिनाभित्र अधिकांश ठाउँमा फोरजी सेवा सञ्चालन गर्ने बताएको छ । टेलिकमको गत वर्षको तथ्याङ्क अनुसार जिल्लाको कुल ९३ हजार ८ सय ८७ अर्थात् ८१ दशमलव ८०% म्याग्दीवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्