सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ



काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ ।

सेनाले गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट प्रक्रियामा सुधार, सैनिक नीति नियममा समयानुकूल पुनरावलोकन, पेशागत तालीममा निखरता, अनुशासन र सदाचार, कल्याणकारी कार्यक्रमको विस्तार र बन्दोबस्ती क्षमता वृद्धिजस्ता कार्यक्रम घोषणा कार्यान्वयनका लागि दृढतापूर्वक अघि बढेको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपालीले कीर्तिमानी काम गर्दै आएको छ । हरियाली प्रवद्र्धन, प्रकृति संरक्षण, हिमाल सफाई, विपद् व्यवस्थापन, खेलकूदमा अब्बल, विदेशी सैनिकसँग सम्बन्ध विस्तार, नागरिक सैनिक सम्बन्ध विस्तार, सूचना प्रविधि सङ्गठन बनाउन निकै सोच विचार गरी नेपाली सेनाले हर प्रहर काम गरिरहेको छ ।

सङ्गठन सुदृढीकरणका लागि शुरु गरिएका अभ्यासले सकलदर्जामा सकारात्मक सन्देशको ऊर्जा सञ्चार भएको प्रधानसेनापति पूर्णचन्द्र थापाले दाबी गर्नुभएको छ । राष्ट्रिय सैनिक रणनीति र ‘इन्टिलिजेन्स कमाण्ड’ तयार गर्ने तथा प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि पहल गरिरहेको सेनाले राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि सुझाव प्रतिवेदन तयार गर्ने, प्रस्तावित प्रतिरक्षा नीति स्वीकृतका लागि पहल र सङ्गठनको मूल ग्रन्थ पुनवरालोकन गर्ने काम गरिसकेको जनाएको छ ।

नेपाली सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । सेनाले प्रदर्शन गरेको अनुशासन, जिम्मेवारी र व्यावसायिक कौशलको देश र विदेशमा खुलेर प्रशंसा हुँदै आएको छ । राष्ट्रिय सुरक्षाका अतिरिक्त दरबार, सङ्ग्रहालयलगायत ऐतिहासिक महत्वका संरचना, विद्युत्गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

वर्तमान साङ्गठनिक संरचनामा पुनःसंरचना गर्न र आधुनिक हातहतियार तथा उपकरण सुसज्जित, गतिशील, भरपर्दो र सन्तुलितरुपमा अघि बढाउन नेपाल आर्मी ‘भिजन २०३०’ कार्यान्वयनका तयारी गरेको छ । जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति बन्नु भनेको सैनिक नागरिक सम्बन्ध विकासको अनुपम उदाहरण मात्र नभई सेनाले आर्जन गरेको ठूलो सम्पत्ति भएको रक्षामन्त्री ईश्वर पोखरेल बताउनुहुन्छ ।

दीर्घकालीनरुपमा लागू हुने योजना र त्यसबाट हुने उपलब्धिको सम्भाव्यता अध्ययन गरिरहेको नेपाली सेनाले अप्रेसन कमाण्ड स्थापना गर्ने कार्यपत्र तयार, साइबर सुरक्षा संरचना निर्माणको कार्यपत्र तयार, संवेदनशील सूचनालगायतका नीति लागू गरिसकेको छ ।

राजनीतिक नेतृत्वलाई कहिल्यै अवज्ञा गर्ने स्वभाव नभएको सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गर्दै आएको छ भने संविधान र कानूनप्रति सेना बफादार नै छ । नेपाली सेना जहिले पनि नेपाली जनतासँग भिजेर रहेको शक्ति हो । सैन्य भर्ना छनोट, पदोन्नति, भवन निर्माण, सामान खरीदजस्ता विषयसँग जोडिएर हुने अनियमितलाई क्यान्सरको सङ्ज्ञा दिँदै यस्ता प्रवृत्ति दोहोरिन नदिने सैनिक नेतृत्वले प्रण गरेको छ । लोकतान्त्रिक पद्धतिलाई प्रवद्र्धन गर्ने हेतुले सेनाले नेतृत्व संवाद, सिपाहीका साथ प्रधानसेनापति, त्रैमासिक रोलकल, गुनासो पेटिका, शिकायत जाँच निर्देशनालय, हन्टिड लाइनको व्यवस्था, सेना सुवेदारको व्यवस्था, महिला सैनिक र खेलाडीसँग अन्तक्र्रिया गर्दै आएको छ । सेनाले यो बीचमा पुरस्कार र दण्ड सजाय निर्देशिका लागू गरिसकेको छ ।

आफ्ना हिताधिकारीको कल्याणका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतको समृद्ध यात्रामा अघि बढिरहेको छ । व्यावसायिक, मिलनसार र अनुशासित सेनाका रुपमा विश्व समुदायबाट नेपाली सेनाले परिचित हुनु भनेको नेपालप्रतिका लागि ठूलो इज्जत, प्रतिष्ठा, विश्वास र गौरवको कुरा हो ।

सेनाभित्र हुने बेथितिलाई हटाउनुपर्छ भन्ने दृष्टिकोणबाट आउने सकारात्मक आलोचनालाई जङ्गी अड्डाले सकारात्मकरुपमा ग्रहण गर्दै आएको छ । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न विश्वासनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुन आवश्यक रहेको प्रधानसेनापति थापाको भनाइ छ । समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गर्दै महिला, विभिन्न जातजाति, समुदाय, लिड, धर्म तथा पिछडिएका वर्गलाई भर्ना हुने यथेष्ट मौका प्रदान गरेकै कारण सेनाको सङ्गठन अहिले सुन्दर फूलबारी बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्