विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईयो



अमृत अर्याल, स्याङजा । संविधान सभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा गल्याङमा शुक्रवार विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको छ ।

संविधान दिवस मुल समारोह समिति गल्याङ नगरपालिका स्याङजाले गल्याङमा प्रभातफेरी र समारोहको आयोजना गरेको हो ।

गल्याङ बजारमा रहेको भानुभक्त आर्चाय माध्यमिक विद्यालयबाट सुरु भएको प्रभातफेरी गल्याङ बजार परिक्रमा गरि मगर भवन लेमभित्तामा पुगेर कोण सभामा परिणत भएको थियो ।कार्यक्रममा संविधान सभाका सदस्य मुक्ति प्रसाद पाठकले नेपाली जनताको अथक प्रयास पछि संविधान आएको बताउनुभयो ।

उहाँले सवै नेपालीलाई समानुपातिक प्रतिनिधित्व गर्ने संविधान आएको र यसलाई सवैले आत्मसाथ गर्दे अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो । साथै संविधान कार्यन्वयनमा सहमतिको माध्यमबाट सवैले हातमालो गर्दे अगाडी बढ्न पनि उहाँले आह्वान गर्नुभयो । साथै सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न सम्पुर्ण जनता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले आजको दिन नेपाली जनताको ऐतिहासिक दिन भएको भन्दै सकारात्मक सोँचका साथ संविधान कार्यन्वयन गर्न सवै एकसाथ अगाडी वढ्नु पर्ने कुरा बताउनु भयो ।

त्यस्तै नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य पुण्य भुषालले विश्वको इतिहास मध्य नेपालको संविधान उत्कृष्ट भएको दावी गर्नुभयो । भुषालले अनुशासनमा केन्द्रित नभईकन संविधान कार्यन्वयन गर्न नसकिने उहाँको भनाई छ।

कार्यक्रममा नेकपा गल्याङ नगर कमिटीका अध्यक्ष नारायण प्रसाद अधिकारी, स्याङ्जा जिल्ला उद्योण बाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि लक्ष्मण प्रसाद भट्टराई, गल्याङ चेम्बरका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कविता बाचन लगायत विभिन्न क्लबहरुबाट साँस्कृतिक प्रस्तुती पनि राखिएको थियो ।

कार्यक्रममा बाजा गाजा सहति विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी, विभिन्न विद्यालय, धार्मिक–सामाजिक संघ संस्थाबाट राष्ट्रिय झण्डा सहित उत्साहजनक सहभागिता रहेको थियो ।
गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका सामाजिक विकास अधिकृत थानापति न्यौपाने र जनसम्पर्क शाखाका प्रमुख दल बहादुर सिंजालीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत शिक्षा शाखाका प्रमुख केदार राज आर्चायले गर्नुभएको थियो ।

त्यसै गरी संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा वालिङमा शुक्रबार विविध कार्यक्रमसहित संविधान दिवस मनाईएको छ ।
नगरस्थित विभिन्न जातजाति, समुदायका बाजागाजा, भेषभूषा तथा झाँकी सहितको र्यालीले वालिङ नगर परिक्रमा गरेको थियो । र्याली शुभारम्भका अवसरमा बोल्दै नगर प्रमुख दिलीप प्रताप खाँणले संविधान देशको मुल कानून भएको उल्लेख गर्दै यो परिवर्तनशील दस्तावेज भएको बताउनुभयो ।

उहाँले मूलुक अहिले संविधान कार्यान्वयनकै चरणमा रहेकाले कतिपय नमिलेका कुराहरुलाई मिलाएर सबैको साझा दस्तावेजको रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।
“नेपाली जनताको लामो बलिदानी, त्याग र संघर्षपछि प्राप्त नेपालको संविधान पूर्ण कार्यान्वयन गरी जनताको अधिकार स्थापित गर्नतर्फ ध्यान दिनुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “देशको मूल कानून संविधान भएको र यो भन्दा माथि कोही पनि हुन नसक्ने भएकाले कानूनका दृष्टिले सबै समान रहेका छन् ।”

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले जनप्रतिनिधिहरु जनताको सेवक भएको बताउँदै जनतामाथि साझा दृष्टि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले काठमाडौं उपत्यकाबाहिरका मोफसलका ठाउँहरुमा सम्भवत वालिङमै यति धेरै जनसमुदायको चासो र सहभागिता रहेको दाबी गर्नुभयो । उहाँले ¥यालीमा विभिन्न झाँकी, बाजागाजा तथा सहभागी भएर संविधान दिवसको कार्यक्रमलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्न सघाउ पु¥याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेकपा नगर अध्यक्ष राजेन्द्र डुम्रे, काँगे्रसका नगर सचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, शैक्षिक संस्थाहरुको तर्फबाट वालिङ बहुमुखी क्याम्पस प्रमुख सच्चितानन्द यादव लगायतले संविधान कार्यान्वयनमा जोड दिनुभएको थियो ।

वालिङ नगरपालिका कार्यालयबाट शुरु भएको झाँकीसहितको ¥याली वालिङ मोड हुँदै भकुण्डे, भुम्रे, तल्लो वालिङ हुँदै पुनः वालिङ मोडमा आएर कोणसभामा परिणत भएको थियो ।
नगर प्रमुख दिलीपप्रताप खांँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । वालिङ नगरपालिकाले तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको थियो । जसअन्तर्गत बिहीबार बिरामीहरुलाई फलफूल वितरण, शुक्रबार ¥याली, देशभक्ति कन्सर्ट, दीप प्रज्वलन र शनिबार सरसफाई गरी संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्