नेकपा अवसरवादी र कांग्रेस सामन्तवादी पार्टी भएको बिजुक्छेको आरोप



पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आजदेखि भक्तपुरमा सुरु भएको छ ।महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारले मूल्यवृद्धि र भ्रष्टाचार रोक्न नसेकेको बताउनुभयो ।

उहाँले नेपालको तराई डुबान हुने गरी भारतले सिमानाको दशगजामै निर्माण गरेको बाँध र तटबन्ध सरकारले हटाउन नसकेको गुनासो गर्नुभयो ।विजुक्छेले सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड दिल्लीको दूत हो कि नेपाली नेता छुटाउनै गाह्रो भएको आरोप लगाउनुभयो ।

अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाउनुभयो ।सैद्धान्तिक बेमेल भएपनि अवसरका लागि मिल्ने पार्टी नेकपा अवसरवादी भएको उहाँको भनाई थियो।नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य राखेको कम्युनिष्ट पार्टी भएको उहाँको भनाई थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको अवस्थामा पार्टीको महाधिवेशन हुन लागेको बताउँदै अध्यक्ष बिजुक्छेले महाधिवेशनलाई समाजवादी प्रचार अभियानको रुपमा अघि बढाउने उल्लेख गर्नुभयो ।
उद्घाटन समारोहमा सातौं महाधिवेशन तयारी समितिका संयोजक एवं संघीय सांसद प्रेम सुवाल, पार्टीका केन्द्रिय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफले, जग्यबहादुर शाही, राजवीर डंगोल, अनुुराधा थापामगर, वैकल्पिक केन्द्रिय सदस्यहरु तथा प्रदेश सांसदहरु सुरेन्द्रराज गोसाई, सृजना सैंजू, सरोज शाह, गुप्तबहादुर शाही लगायतले पार्टीले स्थापना कालदेखि नै देशको सार्वभौमिकता र कामदार जनताको पक्षमा निरन्तर संघर्ष आएको बताउनुभयो ।

उद्घाटन अघि बिहान काठमाडौंको कोटेश्वरबाट एउटा र्याली र भक्तपुरको च्यामासिंहबाट अर्को र्याली कार्यक्रम उद्घाटन स्थल सल्लाघारी पुगेको थियो ।३ दिनसम्म संचालन हुने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने पार्टीले जनाएको छ ।

महाधिवेशनले पार्टीको अबको रणनीति, कार्यदिशा पनि तय गर्ने जनाइएको छ । महाधिवेशनमा देशका ४८ जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु सहभागी रहेका छन ।२०३६ सालमा स्थापित पार्टीको अध्यक्षमा विजुक्छे हालसम्म सर्वसम्मत रुपमा अध्यक्ष हुँंदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्