घर बनाउनेलाई प्रमाणपत्र वितरण



नानीराम नेपाल, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पको साढे चार बर्ष बित्नै लाग्दा नीजि आवास पूनर्निर्माण सम्पन्न गर्ने भूकम्पपीडितलाई धमाधम प्रमाणपत्र वितरण गर्न थालिएको छ । पछिल्लो एक साताकाबीच जिल्लामा झण्डै एक हजार भुकम्पपीडितलाई नीजि आवास सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको छ ।

शुक्रबार जिल्लाको बलेफी गाउँपालिका ४ स्थित झण्डै ५ सय भूकम्पपीडित लाभग्राहीलाई प्रमाणपत्र प्रदान गरिएको छ । नीजि आवास निर्माण सम्पन्न गरेका ४ सय ३० भूकम्पपीडित लाभग्राहीलाई वडातहबाट आवास निर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गरियो । प्रतिनीधि सभाका सांंसद अग्निप्रसाद सापकोटाले एक कार्यक्रमकाबीच आवास निर्माण सम्पन्न गरेका भुकम्पपीडित लाभग्राहीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

बुधबार सनकोसी गाउँपालिका ७ नम्बर वडाका भुकम्पपीडित लाभग्राहीलाई नीजि आवास सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको हो । बुधबार एक कार्यक्रम गरि घर निर्माण गरिसकेका वडाका भूकम्पपीडित लाभग्राहीलाई प्रमाणपत्र प्रदान गरिएको सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताए । कुल ९ सय १३ लाभग्राहीमध्ये ८ सय ४ ले नीजि आवास निर्माण सम्पन्न गरेको र प्रमाणपत्र वितरण सुरु गरिएको उनले बताए । वडाध्यक्ष तिमल्सिनाका अनुसार बुधबार ३ सय बढिलाई प्रमाणपत्र वितरण गरिएको छ ।

बुधबार नै बलेफी गाउँपालिका ३ मा पनि नीजि आवास निर्माण सम्पन्न गर्ने भूकम्पपीडित लाभग्राहीलाई प्रमाणपत्र वितरण गरिएको छ । नीजि आवास निर्माण सम्पन्न गरेका १ सय ३० भुकम्पपीडित लाभग्राहीलाई प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष बीरमान तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्