वीरगन्जमा संविधान दिवसः सत्तापक्षको बहिस्कार, संविधान नै जलाइयो



कृष्णउदास खनाल, वीरगन्ज । मधेस आन्दोलनको केन्द्र वीरगन्जमा पनि शुक्रबार संविधान दिवस मनाइएको छ ।यद्यपी दिवसमा प्रदेश नम्बर २ सरकारका प्रतिनिधिहरुले भने बहिस्कार गरेका छन् ।

संविधान दिवस जिल्ला समारोह समिति पर्साको आयोजनमा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय, युवा विद्यार्थीको सहभागितामा दिवस मनाइएको हो ।तर, दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेसी दलका जनप्रतिनिधि, नेता र कार्यकर्ताहरु भने सहभागी भएनन् ।राजपाले दिवसको विरोधमा कार्यक्रम तय गरेको छ भने संघीय समाजवादी पार्टीले दिवस पनि नमनाउने विरोध पनि नगर्ने रणनीति लिएको थियो ।

सोही अनुसार समाजवादी पार्टीका तर्फबाट विजयी भएका जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अन्सारी र वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी कार्यक्रममा सहभागी नभएका हुन् । कार्यक्रममा मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति भने अबिर र फूल चढाएर सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानकै सपथ खाएर संघ, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्ने, सत्ता भोग गर्ने तर विरोध गर्ने प्रवृत्ति गैरराजनीतिक चरित्र भएको टिप्पणी गरे ।संविधानसभा सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले संविधानमा केही छैन भन्नु गलत भएको बताउनुभयो ।

नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले खल्तीमा आएको पैसालाई पहिला जोगाउने वा भुँईको टिप्नतिर लागेर खल्तीको गुमाउने भन्दै त्यसबारे सोच्नु पर्नेमा जोड दिनुभयो । जनकपुर उच्च अदालत अस्थायी इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले माटो र जनताले बगाएको रगतलाई सम्झेर नै संविधान बनाइएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनतालाई सार्वभौम र राजकीय सत्ता सम्पन्न बनाएको दिनलाई सबैले उत्सवकै रुपमा मनाउनु पर्ने बताउनु भएको छ । वीरगन्जको संबिधान दिवसमा दुई नम्बर प्रदेशको सरकारमा सहभागीहरुले बहिस्कार गरेपनि अन्य दलहरुले भने मनाएका छन् ।

संविधान जलाइयो

वीरगन्जमा शुक्रबार मधेश जनअधिकार फोरम मधेशले वीरगन्जमा संविधान जलाएको छ । मधेश जनअधिकार फोरम मधेशका केन्द्रिय अध्यक्ष भागयनरायण गुप्ताको नेतृत्वमा वीरगन्जको घण्टाघर नजिक उहाँ सहित पार्टीका कार्यकर्ताहरुले संविधान र सरकारको बिरुधमा नाराबाजि गर्दै संविधान जलाएको हो ।सरकारले उर्दी जारी गर्दैमा दिपावली नमनाइने बरु ब्लाक आउट भन्दै गुप्ताले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौती दिनुभयो ।

मन्त्री निवासमा दीपावली

संविधान दिवस मनाउने भनेर निर्णय गरेर ब्याक भएको प्रदेश २ सरकारको मधेश भवनमा दिपावली गरिएको छ । शुक्रबार परेको संविधान दिवसको पूर्व सन्ध्यामा बिहीबार साँझ प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत मन्त्रालयहरु र मन्त्रीका क्वाटरहरुमा दीपावली मनाइएको छ ।प्रदेश २ सरकारको सत्तारुढ दल संघीय समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागि नभइ तटस्थ बस्ने बताउँदै आएका छन् । पहिला संविधान दिवस तीन दिवसीय रुपमा मनाउने भनेर निर्णय गरेको प्रदेश २ सरकार समाजवादी पार्टीको तटस्थ बस्ने निर्णयसंगै दिवस मनाउन पछि हटेको थियो ।

यस्तै प्रदेश २ सरकारका अर्का सत्ता साँझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) संविधानप्रति असुन्तुष्टि जनाउँदै कालो दिवस मनाउने र बल्याक आउट समेत गर्ने बताइरहेका छन् । तर संविधान दिवस नमाउने बताउने सत्ताका नेतृत्व गर्ने समाजवादी पार्टीका मन्त्री र कालोदिवस मनाउने अभिव्यक्ति दिइरहेने राजपा नेपालका मन्त्रीहरुकै मन्त्रालय र क्वाटरमा दीपावली प्रज्वलन गरी मनाएपछि उनीहरुको दोहारो चरित्र देखिएको आरोप नागरिकहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्