भारतको आर्थिक सुस्ताले छायाँ पर्ने



डीबी बुढाथोकी, काठमाडौं। भारतीय अर्थतन्त्रमा छाएको आर्थिक सुस्तताको प्रभाव नेपाल अछुतो रहन नसक्ने अर्थविद्हरूले बताएका छन्।

नेपालको करिब ६५ प्रतिशत व्यापार भारत केन्द्रित रहेको, भारतसँगको मुद्रा विनिमय दर स्थिर रहेको तथा भारतमा करिब ५० लाख नेपाली रोजगारमा रहेका हुँदा अर्थबिद्हरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

भारतीय अर्थतन्त्रमा छाएको सुस्तताबाट नेपालको अर्थव्यवस्थामा अछुतो रहन नसक्ने अर्थविद् डा. डिल्लीराज खनालको धारणा छ।

खनाल भन्नु हुन्छ–‘भारतीय अर्थतन्त्रमा छाएको सुस्तताबाट नेपाल चाहेर पनि अछुतो रहन सक्दैन। मूल्य वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन र रोजगारीमा सुस्ताताको असर पर्न सक्छ।’

नेपालको अर्थतन्त्र भारत डोमिनेन्ट रहेको नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘करिब ५० लाख नेपाली भारतमा काम गर्छन्। सबै क्षेत्रमा सुस्ताता आएकाले रोजगारी कटौती हुँदा भारतमा काम गर्ने नेपालीको रोजगारी गुम्न सक्छ।

नेपालमा लगानी गर्ने भारत प्रमुख मुलुक पनि भएकाले भारतबाट भित्रिन सक्ने वैदेशिक लगानी पनि स्वभाविकै रूपमा कम हुन्छ। साथै आयस्तर घट्दा भारतबाट आउन सक्ने पर्यटकको संख्यामा घटन सक्दछन।’ त्यस्तै अर्का अर्थविद् डा. शंकर शर्मा पनि भारतीय आर्थिक सुस्ताताको असर नेपालमा पर्ने बताउनुहुन्छ।

उहाँले भन्नुभयो–‘ हाम्रो दुईतिहाई व्यापार भारत केन्द्रित भएकाले, स्वभाविकरूपमै भारतमा हुने हाम्रो निर्यात घटन सक्छ।’ यसका निमित्त नेपालले गैरभन्सार अवरोधलाई व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ।

तथापि, भारतीय अर्थतन्त्रमा आएको सुस्तताले नेपालको आर्थिक वृद्धिमा अहिले नै त्यति असर भने पारि नहाल्ने नेपाल समाचारपत्रलाई बताउनुभयो।

भारतीय आर्थिक सुस्ततावाट थोरबहुत लाभ लिन सक्नेतर्फ उहाँको कथन छ। सो कथन पुष्टि गर्दै उहाँले भन्नुभयो–‘मन्दीको कारण उत्पादनको माग घट्दा मूल्य घट्न सक्छ।

हामीले सस्तो मूल्यमा भारतबाट वस्तु तथा सेवा किन्न सक्छांै। अहिले बजारमा गाडीको मूल्य सस्तो हुन लागेको छ। सस्तोमा सामान प्राप्त गर्न सक्नु हाम्रा लागि राम्रै कुरा हो।’

अर्का अर्थविद् प्राडा चन्द्रमणि अधिकारको भने भनाइ फरक छ। नेपालको अर्थतन्त्र भारत निर्देशित रहेकाले यहाँको अर्थतन्त्रलाई स्याटलाइट अर्थतन्त्र संज्ञा दिन पछि पर्नु हुन्न। नेपालको अर्थतन्त्रलाई भारतीय अर्थतन्त्रमा सुस्तता आउँदा नेपालले अनेकौं सकस झेल्नु पर्न सक्ने उहाँको भनाइ छ।

अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘नेपाल–भारतबीच मुद्राको विनियम दर स्थिर रहेकाले डलरको तुलनामा भारतीय रुपियाँ कमजोर हुँदा नेपाली मुद्राको क्रयशक्ति स्वभाबिक रूपमा कमजोर हुन सक्छ। आयात गर्नुपर्ने वस्तु तथा सेवाको लागत वृद्धि हुँदा हाम्रा विकास आयोजनाको लागत वृद्धि हुन सक्छ।

अहिले सुुन महंँगो भइसकेको छ। सुन महंँगो हुँदा तस्करीले बढवा पाउन सक्छ। रोजगारी कटौती हुँदा भारतबाट प्राप्त हुने आम्दानी मात्र घट्दैन, तेस्रो मुलुकमा रोजगारीका लागि जाने संख्या अझ बढ्नसक्छ।’

औसत ७.५ प्रतिशतका दर रहेको भारतको आर्थिक वृद्धि अहिले करिब ५ प्रतिशतमा खुम्चिन पुगेको छ। जुन ६ वर्षकै सबैभन्दा कम हो। अघिल्लो वर्ष कृषि क्षेत्रको आर्थिक वृद्धि ५.८ प्रतिशत रहेकोमा अहिले २ प्रतिशत सीमित भएको छ।

सोही अवधिमा औद्योगिक उत्पादन वृद्धि १२.१ प्रतिशतवाट ०.६ प्रतिशतमा ओर्लिएको छ। दुई वर्षको अबधिमा पताञ्जलीको बिक्री १० हजार करोडवाट ६ हजार करोडमा खुम्चिएको छ टेक्सटाइल, अटो, रियलस्टेट क्षेत्रमा लाखौंले रोजगारी गुमाइसकेका छन्।

मारुती सुजुकीको ३६ प्रतिशते र हुण्डाईको बिक्री १० प्रतिशतले ओर्लिएको छ। टाटालाई पार्टपूर्जा बिक्री गर्ने स–साना कम्पनी तथा एजेन्सी बन्द भइसकेका छन्।

सन् २००८ को आर्थिक मन्दीबाट जापान, युरोप, अमेरिका प्रभावित हुँदा भारतले आफुलाई बचाएको थियो। तथापि, सन् २०१४÷१५ मा आइपुग्दा थोरबहुत आर्थिक सुस्तता चलमलाउन शुरू ग–यो।

सन् २०१६÷१७ मा आर्थिक सुस्तताले अलिक मुन्टो उठाउन थाल्यो। अहिले अर्थव्यवस्थाका सबै क्षेत्रमा आर्थिक सुस्तताको प्रभावित बनेकाले भारत चिन्तित बनेको हो।

नोटबन्दी, जीएसटी, बजेटमा अगाडि सारिएको सर ट्याक्स र अमेरिका–चीनबीचको व्यापार युद्धलाई आर्थिक सुस्तताको कारक ठम्याइएको छ।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्