एक वर्षमा ७५ हजार पर्यटकले म्याग्दीको भ्रमण गरे



प्रताप बानियाँ, म्याग्दी।म्याग्दीमा गत आर्थिक वर्ष २०७५/७६ मा जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकको आगमन बढेको छ। भूकम्पपछि विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने र बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको हो।

गएको वर्षमा कुल ७५ हजार १ सय ९० जना विदेशी पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कार्यालयका अनुसार म्याग्दी भ्रमणमा ४३ हजार ४ सय २८ जना पर्यटक भित्रिएका छन् भने ३१ हजार ७ सय ६२ जना पर्यटक म्याग्दी हुँदै फर्किएका छन्।

म्याग्दी भ्रमणमा भित्रिने र बाहिरिनेमा पुरुष ३६ हजार ६ सय ५ रहेकोमा ३८ हजार ५ सय ८५ जना महिला पर्यटक रहेको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७४/७५ मा कुल ७४ हजार १ सय ६३ जना पर्यटकले म्याग्दी भ्रमण गरेकोमा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार ८ सय १६ जना पर्यटक मात्रै म्याग्दी भ्रमणमा निस्किएका थिए।

पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटक अधिकांश सडकमार्ग भएर आउने गरेका छन्।

पर्वतको मालढुंगा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र हिमाली जिल्ला मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटक आउँछन्।

यसैगरी कतिपय पर्यटकहरू टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटक जिल्ला भित्रिने गरेका छन्।

म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले तथ्यांकमा पर्यटकले म्याग्दीको भ्रमणमा धेरै देखिए पनि जिल्लामा न्यून मात्रामा बस्ने गरेको बताउनुभयो।

उहाँले पर्यटकको बसाई लम्ब्याउनका लागि आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलको विदेशी पर्यटकहरूले भ्रमण गर्ने गरेका छन्। म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटक घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन्।

त्यस्तै भूरुङ–तातोपानीको कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट मनोरम दृष्यावलोकन गर्न पर्यटकहरू आउने गरेका छन्।

म्याग्दीमा खासगरी अमेरिका, जर्मनी, फ्रान्स, अस्टेलिया, स्वीट्जरल्यान्ड, न्युजिल्यान्ड, युक्रेन, इटाली, क्रोएसिया, बेल्जियम, इजरायल, डेनमार्क, क्यानडा, फिलिपिन्स, सिंगापुर, रोमानिया, जापान, मेक्सिको, स्वीडेन, आयरल्यान्ड, अर्जेन्टिना, स्पेन, इण्डोनेसिया, रसिया, स्लोभाकिया र कोरियाबाट पर्यटकहरू आउने गरेको प्रहरीको भनाइ छ।

म्याग्दी जिल्ला भ्रमण गर्नका लागि विदेशी पर्यटकहरू खासगरी चारओटा नाका भएर आउने गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो।

म्याग्दीको सदरमुकाम बेनीबजार, कास्कीको घान्द्रुक हुँदै उत्तरी भुरुङ–तातोपानी, बागलुङको ढोरपाटन भएर पश्चिम म्याग्दीको दरबाङ क्षेत्र र हिमालपारीको जिल्ला मनाङ र मुस्ताङबाट समेत पर्यटकहरू म्याग्दी भित्रिने गरेको उहाँले बताउनुभयो।

यी चारवटै क्षेत्रमा रहेका प्रहरी युनिटबाट पर्यटकको चेकजाँच र तथ्यांक राख्ने गरेको बताउँदै प्रनाउ मरासिनीले आपत्कालीन अवस्थामा तुरुन्तै पर्यटकको उद्धार गर्ने गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्