पाकिस्तानी पूर्वकर्नेल भारतको हिरासतमा रहेको आरोप



इस्लामावाद, (एजेन्सी)।पाकिस्तानले सन् २०१७ मा अवकाश प्राप्त सैन्य अधिकृत लेफ्टिनेन्ट कर्नेल हबिब जहिर बेपत्ता हुनुमा भारतको हात रहेको आरोप लगाएको छ।

करिब अढाइ वर्ष पहिलाको उक्त घटनालाई लिएर यसको पछाडि शत्रु एजेन्सीहरूको संलग्नता हुन सक्ने तथ्यलाई अस्वीकार गर्न नसकिने जनाएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका तर्फबाट जारी एक बयानमा भनिएको छ– ‘भारतीय सञ्चार माध्यमहरूले लेप्mिटनेन्ट कर्नेल हबिब भारतको हिरासतमा रहेको दाबी गरेको र उनलाई पाकिस्तानको जेलमा रहेका कमान्डर कुलभूषण जाधवको बदलामा रिहा गरिने उल्लेख गरेका छन्।

सन् २०१७ अप्रिलमा नेपालको लुम्बिनी क्षेत्रबाट बेपत्ता भएका कर्नेल हबिब जहिर रोजगारीको अन्तरवार्ताका लागि गएको एक प्रश्नको जवाफमा प्रवक्ताले बताएका छन्।

पाकिस्तानले यसमा शत्रु एजेन्सीको संलग्नता रहेको हुन सक्ने तथ्यलाई अस्वीकार नगरेको उनले बताए। हबिब घर नफर्केसम्म पाकिस्तान सरकार चैनले नबस्ने उनले थपे।

पाकिस्तानले करिब अढाइ वर्षपछि उक्त मुद्दा उठाउँदै जासुसीको आरोपमा मृत्युदण्ड पाएका भारतीय नौसैनिकका पूर्वअधिकृत कुलभूषण जाधवको बदलामा हबिबको रिहा हुनुपर्ने सम्बन्धमा संकेत गरेको अखबारहरूले जनाएका छन्।

हबिबलाई काम दिने प्रस्ताव दिएर जालमा फसाएको पाकिस्तानी विदेश मन्त्रालयले आरोप लगाएको छ। उनी नेपालमा भारतीय सीमानजिकै लुम्बिनीबाट गायब भएका थिए र उनी भारतीय हिरासतमा रहेको आशंका रहेको प्रवक्ताले बताएका छन्।

पाकिस्तानले भारत सरकारसँग हबिबको अवस्था पत्ता लगाउन लगातार अनुरोध गरेको बताइएको छ। तर भारत सरकारका तर्फबाट कुनै सकारात्मक जवाफ नआएको मन्त्रालयले जनाएको छ। उनी बेपत्ता भएको समाचार पाकिस्तान बाहिरका सञ्चार माध्यमबाट पनि आएको विदेश मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ।

उनले लिंकइन र युनको एक वेबसाइटमा कामका लागि आफ्नो सीभी पोस्ट गरेका थिए। जवाफमा उनलाई मिस्टर मार्कका तर्फबाट फोन र इमेल प्राप्त भएको थियो जसमा उनलाई उपप्रमुखको कामका लागि सूचीकृत गरिएको थियो।

उनलाई काठमाडौं आउन भनिएको थियो र त्यसका लागि उनलाई सन् २०१७ अप्रिल ६ मा अन्तरवार्ताका लागि ओमन एयरलाइन्सको लाहौरबाट काठमाडौंको एक एयर टिकट पठाइएको थियो।

जाँचमा मार्कको बेलायतको मोबाइल नम्बर फर्जी भएको पत्ता लागेको पाकिस्तानले जनाएको छ। जुन बेबसाइटसँग हबिबले सम्पर्क गरेको थियो त्यो भारतबाट सञ्चालित थियो र पछि त्यसलाई बन्द गरिएको पाकिस्तानले आरोप लगाएको छ।

उनले लुम्बिनीबाट आफ्नी पत्नीलाई सुरक्षित अवतरण भइसकेको र भारतीय सीमाबाट ५ किलोमिटर दुरीमा रहेको मेसेज पठाएका थिए। उक्त मेसेजपछि उनका परिवारसँग उनको फेरि सम्पर्क नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्