फलेबासमा ‘विकास संवाद’ कार्यक्रम



नेपाल समाचारपत्र,पर्वत। स्थानीय तहका योजनामा गुणस्तर र बजेटअनुसारका काम नभइरहेको गुनासो आइरहेका बेला नगरभित्रका योजनाको प्रभावकारिता जाँच गर्न पर्वतको फलेबास नगरपालिकाले विकास सवाद कार्यक्रम सम्पन्न गरेको छ।

विकासको प्रभावकारिता र अवस्थाका बारेमा नागरिकबाट नै जानकारी लिने उद्देश्यले ‘विकास संवाद’ कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाले सबै वडामा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षमा नगरपालिकाका ११ वटै वडामा सुरुआत गरिएका विकासका योजनाको अवस्था र प्रगतिका बारेमा स्थानीयबासीबाट नै जानकारी लिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा सञ्चालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता बारे जनतासँग प्रत्यक्ष सबाल जबाफ गर्दा योजनाको माग, कार्यान्वयनको अवस्था र भाबी योजनाका बारेमा प्रत्यक्ष बुझ्ने अवसर मिलेको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो।

संवाद कार्यक्रममार्फत पूर्वाधार निर्माणको कामको जिम्मा लिएको कसैले पनि फर्जी प्रगति देखाउन पाउने अवस्था अन्त्य गरिदिएको उहाँले बताउनुभयो।

‘विकासको वास्तविक अवस्थाका बारेमा जानकारी हुने भएकोले भविष्यमा प्रभावकारीरूपमा काम गर्न सजिलो हुनेछ।’ उहाँले भन्नुभयो ‘जनताको घरदैलोमा नै पुगेर सुझाब लिइने भएकाले चालू वर्षका योजनाको प्रभावकारितासमेत बढाउँछ।’

नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह गरिएको सेवा तथा विकास निर्माणको अवस्थामा बारेमा जानकारी लिई त्यसबारेको तथ्यांक सार्वजनिक गरेर सेवाप्रदायकलाई जबाफदेही बनाउन सफल भएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा ११ वटा वडाका ११ स्थानमा वडावासीलाई एकै ठाउँमा भेला गराइएको थियो र त्यहीँ नै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयले सञ्चालन गरिरहेका योजना र कामको बारेमा छलफल चलाइएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले ‘विकास संवाद’ कार्यक्रमबाट स्थानीय स्तरमा नागरिकलाई के कुराको आवश्यकता परेको छ भन्ने बारेमा पनि जानकारी प्राप्त भएकोले नगरपालिकाले जबाफदेहीरूपमा कार्यसम्पादन गर्ने मौकाका रूपमा लिएको बताउनुहुन्छ।

‘नगरपालिकाका हरेक वडामा गएर प्रत्यक्ष रुपमा नागरिकसँग भेटेर कुराकानी गर्न पाउँदा उनीहरूको मागको पहिचान भएको छ’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म विकासको अवस्था के छ भनेर थाहा पाउन कामको जिम्मा लिएका व्यक्तिले ल्याएको प्रतिवेदन हेरिन्छ।

कहिलेकाहिँ फिल्ड भिजिटमा गएर हेर्ने गरिएकोमा अब भने प्रत्यक्ष सरोकार राख्ने स्थानीय नागरिकले यसबारेमा हामीलाई जानकारी गराएका छन्।’

प्रतिक्रिया दिनुहोस्