पसलमै सुतेका सज्जनको यसरी गयो ज्यान



मोतीराम तिमल्सिना, काभ्रे। ‘बिहान ६ बजे उठेर पसल खोल्दै थिएँ। श्रीमती सरीता पनि उठेर शौचालय गएकी थिइन्। पसलमै सुत्ने भएकाले भर्खर पाँच वर्ष प्रवेश गरेका छोरा सज्जन सुतिरहेका थिए। एक्कासी ढ्वाङ आवाज आयो।

के भयो भनेर यसो हेर्दै थिएँ, श्रीमती सरीता शौचालयबाट निस्कँदै थिइन् माथिबाट आएको पहिरोले गल्र्याम्म पसल पुर्यो। सुतिरहेका छोरा निकाल्नै सकिएन’ –सज्जनका बाबु रोजन लामाले दुःखी हुँदै बताउनुभयो।

जिल्लाको पाँचखाल नगरपालिका–४ मा बोक्से सामुदायिक वनले सार्वजनिक स्थानमा निर्माण गरेको अस्थायी टहरामा रोजनले किराना पसल राख्दै आएका थिए। गोदावरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सोही टहरामा जोडेर अस्थायी टहरा थपेको थियो।

दुवै टहरा सार्वजनिक स्थानमा निर्माण भएका थिए। ‘मंगलबार राति नै टहरा नजिकै पहिरो गएको थियो, हामी बेलुका चिया खाएर निस्किएका थियौं’– स्थानीय शान्तकुमार भट्टराईले भन्नुभयो– ‘बिहान आउँदा त टहरा नै पुरिएछ।’

पहिरोको जोखिम हुँदाहुँदै रोजनको परिवार पसलभित्रै सुतिरहेको थियो। टहरामाथि ढुंगाको चट्टान भएकाले जोखिम नहुने भन्दै विश्वासका साथ टहरामै सुतेको रोजनले बताउनुभयो।

रोजन बिहान बेलुका मात्रै पसलमा बस्ने र दिउँसो गाडी चलाउने गर्दै आउनु भएको थियो। पाँच वर्षीय बालक सज्जन स्थानीय चण्डेनी मावीमा कक्षा १ मा अध्ययन गर्दै थिए। सज्जन असाध्यै चलाख बालक भएको स्थानीयले बताए।

उक्त टहरा मण्डन नगरपालिका–११ जैसीथोक र पाँचखाल नगरपालिका–४ फेदीको केन्द्र पनि हो। तरकारी संकलन, नगरपालिकाको ढाट र घाट एकै स्थानमा छ। बोक्से र चाखोलाको संगम उक्त स्थानमा बिहान ७ बजेदेखि नै चिया र तरकारी बिक्री गर्न स्थानीयको जमघट हुने गर्दथ्यो।

‘बिहान साढे ६ बजे आएको पहिरो केही ढिला भएको भए अझै ठुलो क्षति हुन सक्थ्योे’–स्थानीय साबित्री आचार्यले बताउनुभयो।

घटना भएलगत्तै सशस्त्र प्रहरी गुल्म पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली उद्धारका लागि खटिएको थियो। दुईवटा स्काभेटरको सहयोगले साँढे ४ घन्टापछि बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताउनुभयो।

घटनास्थलको अवलोकनपछि एसपी सापकोटाले सम्भावित दुर्घटना रोक्न अपनाउनु पर्ने सुरक्षामा कमजोरी भएको बताउनुभयो। पहिरोका कारण बालकसहित दुईवटा पसल पुरिएका थिए।

यसैबीच अविरल वर्षातका कारण बीपी र अरनिको राजमार्गसहित ग्रामीण क्षेत्रमा पुग्ने अधिकांश सडक बन्द भएका छन्।

अरनीको राजमार्ग हुँदै जाने हेलम्बु मार्ग, कोशीपारी मार्ग वर्षाका कारण बिजुलीका पोल र रुख लतार्दै पहिरो जाँदा अवरुद्ध भएका हुन्।

पहिरोका कारण नियमित सवारी चल्न सकेका छैनन्। अरनिको राजमार्गसहित हेलम्बु मार्गमा बिहानैदेखि बिजुली बत्तिका पोल ढलेका कारण सुचारु हुन सकेको छैन।

पहिरो पन्छाउन नसक्दा सवारी साधन बीचमै रोकिएका छन् भने यात्रुहरू पैदलमार्फत गन्तव्य गइरहेका छन्।
अविरल वर्षासँगै आएको पहिरोले भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन्।

मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्ती माथिबाट ढिस्का खसेको छ। पहिरो खस्न थालेपछि अधिकांशले राति नै घर छाडेका थिए। केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ।

 

प्रतिक्रिया दिनुहोस्