ठूलो मात्रामा लागूऔषध बरामद



नेपाल समाचारपत्र, काठमाडौं।प्रहरीले ठुलो मात्रामा नियन्त्रित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शान्तिनगरबाट नियन्त्रित लागूऔषध नूर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका राजा कुणाल, अभिशेककुमार जयसवाल र राजेशकुमार जयसवाल रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बीआर ३० पी ८६०७ नम्बरको गाडी जाँच गर्दा गाडीमा उक्त लागूऔषध फेला पारी उनीहरूलाई गाडीसहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय १० एम्पुल, फेनारगन ३ सय ७५ एम्पुल र नूर्फिन ४ सय १५ एम्पुलसहित ४ जनालाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहा, गोलबजार नगरपालिका–४ बस्ने उतिमलाल साह, सोही नगरपालिका–३ जमद बस्ने अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने सुजेन्द्र लोहनी र काभ्रे रोशी गाउँपालिका–७ बस्ने पेमा लामा रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेका, सुजेन्द्र लोहनी लागूऔषध मुद्दामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेका, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेका र अशोक तामाङ जबरजस्ती करणी मुद्दामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरी सकेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।

त्यसैगरी ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट धोबिघाट बस्ने सुवाश राना मगरलाई नियन्त्रित लागूऔषध डाइजोपान ९ एम्पुल, नूर्फिन ६ एम्पुल र फेनारागन ८ एम्पुलसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले बा६६प २९६९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्