सुशील कोइरालालाई स्वर्ण पदक दिइने



नेपाल समाचारपत्र, काठमाडौं। जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले यस वर्ष गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गर्ने भएको छ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा हुने विशेष समारोहमा पूर्वप्रधानमन्त्री स्व. कोइरालालाई मरणोपरान्त स्वर्ण पदक दिन लागिएको प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले जानकारी दिनुभयो।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ निर्माणमा नेतृत्वदायी भूमिका निभाउनुभएका पूर्व प्रधानमन्त्री कोइरालाको संविधान निर्माण भएको ६ महिनापछि निधन भएको थियो। पूर्वप्रधानमन्त्री एवं शान्ति नायक गिरिजाप्रसाद कोइरालालाई पनि मरणोपरान्त यो पदक प्रदान गरिएको थियो।जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले २०६४ सालदेखि नै विभिन्न व्यक्तिलाई यो पदकबाट सम्मानित गरिसकेको छ।

‘जनआन्दोलनमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरिँदै आएको छ,’ प्रतिष्ठानका अध्यक्ष प्रधानले भन्नुभयो– ‘यो पदकबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संविधान मस्यौदा समितिका अध्यक्ष कृष्णप्रसाद सिटौला, पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पनि यो पदकबाट सम्मान गरिसकिएको छ।’

प्रतिष्ठानले गतवर्ष उक्त सम्मान कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरेको थियो। कलाकारद्वय श्रेष्ठ र आचार्यले जनआन्दोलनका घाइतेको लागि कोष स्थापना जनआन्दोलनलाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो।

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) स्वर्ण पदक प्रदान गरिने समारोहमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीका साथै तत्कालीन संविधान सभाका सभामुख नेम्वाङ, संविधान मस्यौदा समितिका सभापति सिटौलालगाएका अतिथिको उपस्थिति रहने प्रतिष्ठानका सदस्य गौरी दवाडीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्