मासु र मद्यपान हानिकारक



दसैँ आउनेबित्तिकै कोही नयाँ लुगा लगाउन, कोही साथीभाइसँग खेल्न, रमाइलो गर्न अनि कोही मीठो खान पाइन्छ भनी मख्ख पर्छन्। त्यस्तै, लामो बिदा हुने भएकाले कामको तनावबाट छुट्कारा पाउन भनी कतिपय घरमै बसी तास खेल्ने, टिभी हेर्ने अथवा मोबाइल र ल्यापटपमा हराउने सोच पनि कतिपयको हुन सक्छ।

यस बेला मासु, मद्यपान र धूमपानमा रमाउने पनि कम्ती हुँदैनन्। दसैँको केही दिनको रमाइलोले जीवनभर रोगको सिकार हुनुपर्ने अवस्था आउन सक्छ। कतिपयले दसैँमा आफ्नो स्वास्थ्यमा ध्यान नपुर्याउनाले अस्पताल दौडिनुपरेका घटना पनि धेरै छन्।

त्यसैले दसैँमा आहारविहारमा विशेष सतर्कता अपनाउनु अत्यन्त जरुरी छ। दसैँमा जसको घरमा गए पनि खानपिनमा जोड दिने र अधिकांशको घरमा मासु र मद्यपान चल्ने भएकाले दुई दिनको रमाइलो त हो भन्दै स्वास्थ्यको ख्याल नगरी खाने चलन धेरैको छ। दसैँमा मद्यपान गर्ने चलन पनि रहेको पाइन्छ।

मद्यपान स्वास्थ्यको लागि निकै हानिकारक छ। यसका कारण मुटुसम्बन्धी रोग लाग्न सक्छ। अझ मुटुको समस्या भएका व्यक्तिले त यसलाई पूर्णरूपमा निषेध गर्नुपर्छ। सीमित मात्रामा मद्यपान गर्नाले फाइदा गर्छ भन्ने कतिपयको धारणा छ, तर यो गलत हो।

रक्सीले एइस्काइमिक हार्ट डिजिज र महिलाको डायबिटिजमा सकारात्मक असर पार्ने भए पनि यसले समग्रमा स्वास्थ्यसम्बन्धी धेरै समस्या बढाउँछ। यसले मस्तिष्कलाई पनि कमजोर बनाउँछ।

त्यस्तै, दसैँमा मासु, चिउराबाहेक अन्य सागसब्जी र फलफूल त्यति कसैले पनि रुचाउँदैनन्। यसरी मद्यपानसहित मासु, चिउरामात्र खाने हो भने यसले मुटुसम्बन्धी समस्या झन् बढाउन सक्छ।

मद्यपानको कारण रोगी हुनु र जीवनलाई नै बेस्वादिलो बनाउनुभन्दा मदिरालाई टाढा राखी दसैँलाई स्वस्थकर बनाएमा परिवार र समाजलाई खुशी दिई आफूले पनि दसैँको पूर्ण आनन्द लिन सकिन्छ। दसैँको एक गल्तीले जीवनभर पछुताउनुभन्दा आहारविहारमा सचेत भई स्वास्थ्यको सुरक्षा गर्नु आवश्यक छ।

– रुस्तम गौतम,
कलंकी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्