आचार्य निवासमा “बीपीको साहित्य”



नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा बीपी दिवसको सन्दर्भ पारेर ‘बीपीको साहित्य’ विषयमा छलफल भयो।

आचार्यले कार्यक्रम प्रारम्भ गर्र्दै साहित्यका बारेमा आफ्नो धारण राख्नुभयो। उहाँका अनुसार साहित्य भन्नाले कथा उपन्यास मात्र होइन, विचारका हिसाबले लेखिएका यावत् चिजहरू साहित्य हुन्। अझ यसलाई साहित्यभन्दा वाङ्मय भन्न सुहाउँछ। हामी ७/७ दिनमा गरिरहेका छौं। यहाँ कहिले गणतन्त्र, धर्मनिरपेक्षताको बहस पनि भयो।

हामीले लेख्ने मान्छेलाई बुझ्ने भनेको उसको रचनाकै आधारमा हो। बीपीले साहित्य मात्रै लेखिदिँदा उहाँलाई नभेटेका मानिसले पनि उहाँलाई बुझ्न सजिलो भएको छ।

साहित्य हेरेपछि सबै दिग्दर्शन भइहाल्छ। अहिले बीपीको साहित्यको प्रभाव कस्तो छ? बीपी कोइरालाले चार दशक लोकतान्त्रिक आन्दोलनको सशरीर नेतृत्व गर्नुभयो। कांग्रेसको सभापति र प्रधानमन्त्री पनि उहाँ हुनुभयो।

यतिले मात्रै उहाँलाई हामीले मानेको हो कि केले हो? अरू पनि सभापति प्र्रधानमन्त्री भएका पनि हुनुहुन्छ। अरूलाई नमानेर उहाँलाई मान्ने स्थिति कसरी आयो? नेपालमा लोकतान्त्रिक विचारको मात्र होइन, विचारधाराको तहमा पुगेर उहाँले योगदान गर्नुभएको हो।

नेपाली साहित्यमा पनि बीपीको योगदान विशिष्ट रह्यो। कथा, उपन्यास, जीवनी, डायरी, कविता सबैमा उहाँले लेख्नुभएको छ। तर राजनीतिक दर्शन र विचारधारायुक्त लेखहरू थुप्रै लेख्नुभएको छ, किताब छैन। म २५ वर्षको हुँदासम्म एउटा राजनीतिक गतिलो किताब लेखिदिए हुने नि भन्ने लागिरहेको थियो।

बीपीको शेषपछि विभिन्न संग्रह बाहिर आएका छन्। साहित्यभन्दा विचारधाराको संग्रह नै बढी भएको छ। उहाँ आफैले चाहिँ लेख्नुभएन किन? भन्ने आशंका छ। त्यसैले बीपीको साहित्यलाई कसरी हेर्ने कसरी अध्ययन गर्ने?

कसरी अध्ययन गर्दा उहाँलाई बुझिन्छ। कसरी अहिलेसम्म उहाँको ख्याति भइरहेको हो? सभापति, प्रधानमन्त्री अरू भए पनि उहाँको जत्तिको महत्व अरूको भएको छैन। किन यस्तो भयो? कार्यक्रम यही विषयमा केन्द्रित थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले पनि कार्यक्रममा आफ्नो विचार व्यक्त गर्नुभयो। नरहरि आचार्यले महत्वपूर्ण विषय बीपीको साहित्यमा छलफल चलाएकोमा घिमिरेले प्रशंसा गर्नुभयो।

बीपीको कुरा गर्नेबित्तिकै राजनीति र साहित्य समानान्तररूपमा आउँछ। हाम्रो उमेरका कारणले बीपीको साहित्य पढेर बीपीलाई चिनेको हो।

साहित्य र राजनीतिलाई समान उचाइमा लैजाने संसारको अरू नेताहरूलाई हेर्दा भेटिँदैन। नेल्सन मण्डेला त्यत्रो समय जेल पर्नुभयो, महात्मा गान्धीको पनि त्यत्रो नाम छ, हामीले जानेका, पढेका अरू अग्ला राजनीतिज्ञमा लेखनको धेरै दख्खल देखिँदैन।

बीपी जो १४ वर्षदेखि जेल पर्यो, भारतीय स्वतन्त्रता संग्राममा जसले २० वर्ष योगदान गर्यो, जो आठ वर्ष राजाबाट थुनियो, जो फेरि ८ वर्ष प्रवासमा बस्यो, जसलाई ३५ वर्षको उमेरमा नै घाँटीको क्यान्सर लाग्यो।

त्यो व्यक्तिले यति धेरै नेपाली राजनीतिको मियो बनेर देशलाई डोहोर्याउनुभयो र साहित्यमा शिखर पुरुषका रूपमा स्थापित गर्नुभयो। यो संसारकै दुर्लभ उदाहरण हो बीपी कोइराला।

बीपीका दोषी चस्मा, तीन घुम्ती, बाबुआमा र छोरा, नरेन्द्र दाइमा साहित्यका अभूतपूर्व प्रयोग छ। सबै दृष्टिबाट पुरुष लेखकले नारीको मनोविश्लेषण गरेको छ, नारीका बारेमा यति राम्रो चित्रण गरेको छ, त्योचाहिँ नेपाली राजनीतिमा जुन क्रान्तिकारिता प्रदर्शन गर्नुभयो उत्तिकै नेपाली साहित्यमा पनि क्रान्तिकारिता प्रदर्शित गर्नुभयो।

उहाँको चन्द्रवदन कथाबाट शुरू भएको साहित्यिक यात्रा हरेक चरणमा नयाँ आयाम खडा गरेको छ। हिटलर र यहुदी, मोदी आइन, श्वेतभैरवी, सबै विशिष्ट छन्।

बीपीको समग्र राजनीतिको एउटा ग्रन्थ पढ्न पाए हुने भन्ने लाग्छ।बीपीकोमा जाँदा देशविदेशका राजनीतिक कुराहरू आउँथे रे। गिरिजाबाबु पनि अनुभवका कुरा गर्नुहुन्थ्यो।

अहिले नेताहरूकामा जाँदा एकले अर्कोको आलोचनाबाट शुरू हुन्छ। अपेक्षा गरेको कुरा आउँदैन। नेपालको राजनीति यहाँनेर उभिएको छ !नेपाल कम्युनिस्ट पार्टीको उद्देश्य, रणनीति यो छ ! इन्डियाले यो गरिराखेको छ ! चाइनाले यो गरिराखेको छ! दक्षिण एसियाको राजनीति यस्तो हुँदै छ ! हामीले खोजेको यो हो। यो कुरा नेताहरूबाट पाइँदैन।

बीपीले समयलाई कहिल्यै खेर जान दिनुभएन। जेलभित्र, प्रवास जहाँ भए पनि साहित्य लेख्नुभयो। भेटेजति सबै पढ्नुभयो। प्रज्ञाको त्यत्रो भण्डार भएको व्यक्ति बीपी आफूलाई अपुरो, अधुरो जस्तो भनेपछि हामी त बाह्रखरी पनि छिचेलेका छैनौं।

समयको अधिकतम उपयोग बीपी कोइरालाले गर्नुभयो। बीपीले राष्ट्रियताको विषयमा दरभङ्गामा भन्नुहुन्छ सिक्किमको राष्ट्रियता समाप्त भयो, पाकिस्तान विखण्डन भयो, हामी नेपाल गएनौं भने नेपालको राष्ट्रियता खतरामा पर्छ त्यसैले म नेपाल जान लागेको त्यही कुरा बताउन तपाईंहरूलाई बोलाएको भनेर लामो विवेचना उहाँले प्रस्तुत गरेपछि उहाँ नेपाल आउनुभयो।

हामीले लोकतन्त्रको मात्रै कुरा गर्यौं भने विदेशीको गोटी बन्छौं राष्ट्रियताको मात्रै कुरा गर्यौं भने अधिनायकवादको गोटी बन्छौं। त्यसैले हामीले राष्ट्रियता जोगाउने, प्रजातन्त्रको लडाइँ पनि लड्ने भनेर नेपाल आउनुभयो। बीपीले जीवनभन्दा राष्ट्रियता महत्वपूर्ण कुरा हो भन्नुभयो।

कार्यक्रममा बीपीले नेपाली जनताको घरमा खेती गर्ने जमिन होस्, एउटा दुहुनो गाई होस्, स्कुल, अस्पताल होस् भनेर सरल भाषामा सबै जनताले बुझ्ने गरेर परिकल्पना गरेको समाजवाद अहिलेको सन्दर्भमा अझ बढी आवश्यक भएको छ।

कांग्रेसको अबको समाजवादी कार्यक्रम के हो? तल्लो तहका मानिसलाई बीपीले राजनीतिमा पनि धेरै महत्व दिएको देखिन्छ। बीपीको साहित्य पढ्दा पनि यिनै कुरा पाइन्छन्।
प्रस्तुति ः यदु भट्ट

प्रतिक्रिया दिनुहोस्