एउटा कथा यस्तो पनि



कमल ढकाल

एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको हुन्छ। एउटा मान्छेले एकै जीवनमा धेरै जीवन बोकेको हुन्छ। संघर्षबाट सफलतामा आउन, दुःखबाट सुखमा आउन एक मान्छेले गरेको कहानीले अर्काेलाई प्रेरणा मिल्छ।

यो मत्र्यलोक हो। यहाँ उडिरहेका चरादेखि हिँडिरहेका मान्छेहरू पनि मर्छन्। एक दिन जाने अनित्य संसारमा मर्नुअगाडि आफ्ना कुरा अक्षरमा लेखियो भने नै नयाँ पुस्ताले थाहा पाउने हो भनेर उनले ‘पहिलो महिला सीडीओ’ पुस्तक लेखिन्। उषा नेपाल अरू महिला जस्तै हुन्। तर दुरुस्तै भइनन्। संघर्षको गाथा बन्यो। एउटा कथा यस्तो बन्यो जुन सधैं पढिरहन मिल्ने बन्यो। एक ऐतिहासिक महिलाका रूपमा सामान्य ज्ञानमै उनले नाम दर्ता गरिन्। उनको कथा पढ्दा लाग्छ त्यस्तो जीवन भोगेर पनि मान्छे यस्तो बन्न सक्दो रहेछ।

मान्छेको कारण मान्छे प्रेरित देखेर लाग्छ जीवन सुन्दर छ।संसारमा यति विधि मान्छे भएर नै पृथ्वीरूपी यो ग्रह यति विधि सुन्दर छ। सुन्दरताको व्याख्या गर्ने मान्छेको कारण पृथ्वी सुन्दर छ। संगीत, साहित्य, अध्यात्म, कला विज्ञान सबै मान्छेले बनाए र व्याख्या गरे। यसै कारण लाग्छ जीवन सुन्दर छ।

आफ्नो कारण र अरूको कारण पनि जीवन सुन्दर लाग्छ। सुन्दर जीवनलाई झन् सुन्दर बनाउने मान्छेको कथा लेखिन्छ। लेखिएको कुरा पढेर अर्काे प्रेरित हुन्छ। लेख्नेको कथा बन्छ, नलेख्नेको व्यथा बनेर बसिरहन्छ।

कुरा हो ७९ वर्ष अगाडिको। एक जीवनको जन्म भयो महोत्तरीको जावक गाउँमा। मंसिरमा १३ पुगेर १४ वर्ष लागेको बच्चाको माघमा बिहे भयो। विवाह भएको तीन वर्ष पुग्दै थियो। एसएलसी पास भएकाले ‘अब त क्याम्पस पढ्न पाइने भो’ भन्ने खुसीयाली छाएको बच्चालाई वज्रपात पर्यो।

अकस्मात् दुर्घटनामा श्रीमान्को मृत्यु भएको खबर सुन्नुपर्यो। मुजफरपुरको कर्नेलीमा साउनेपानी छल्नलाई बहिनी लिन श्रीमान् र देवर जानुभएको थियो। बोटिङ गर्न गएका श्रीमान् र देवरको डुंगा पल्टिएर मृत्यु भएपछि बच्चा बालखमै बलवान् हुनुपर्यो।

ठूलो परिवारमा आएकी सानी मान्छेले गरून् के जाऊन् कहाँ? जति दुःख पाए पनि माइतीलाई दुःख हुन्छ भनेर नभन्ने त्यो समयमा पढ्न पाउने सर्तमा उनले बिहे गरेकी थिइन्।

पढ्न पाउने भइन्। घरमै मास्टर राखेर पढ्न पाउने व्यवस्था ससुराले गरिदिनुभयो। पढ्न मास्टर त थिए तर पढ्ने समय थिएन ती बच्चाको। संस्कार नै थियो। बिहानको चिया बुहारीले नै ‘सर्भ’ गर्नैपर्ने।

२२ जनाको परिवारलाई चिया देऊ, परिवारलाई पुग्ने तरकारी केलाऊ र कहिलेकाहीं तरकारी र सुखा रोटी पकाऊ, दही र दूध हेर यस्ता मान्यताका कारण पढ्ने समय मिल्दैनथ्यो। कहिलेकहीं डक्टरलाई भेटेर उनी निद्रा नलाग्ने औषधि खाएर रातभर पढ्थिन्।

एक दिन यस्तो भयो। ससुरा खाना बस्दा पंखाले हम्किरहनुपर्ने देखेर देवरलाई असह्य भएछ र पंखा लेराएछन्। ससुरा कराउनुभएछ। ‘पंखा हावाका लागि मात्रै हो र? यो त हाम्रो संस्कार पो हो ! यति भनेर ससुराले पंखा हटाइदिनुभो।

फेरि शुरू भयो हम्कने काम। त्यो त्यस्तो समय थियो आजका मान्छेलाई त्यो समयको कथा कहानीझंै लाग्न सक्छ।
त्यो समयमा बुहारीले पढेर अगाडि बढ्नु साह्रै गाह्रो कुरा थियो।

जब आँपको सिजन आउँथ्यो ती बच्चीलाई त्यो सिजनलाई नै सराप्न मन लाग्थ्यो। एक उखरमाउलो गर्मी अर्काे साढे दुई सय बोटका आँपको चाना काटेर प्याकेट बनाएर भीभीआईपी र भीआईपीको नाम लेखेर ससुरालाई टक्र्याउनुपर्ने।

उमेर मात्र हो जीवनमा पछाडि नहट्ने बढिरहने। उनको उमेर पनि बढ्दै गयो। उमेरसँगै धेरै कुरा बढ्छ। उनको पनि पढाइ बढ्यो। आईए प्राइभेट, बीए वनारसमा र पटनामा साइकोलोजमा एमए गर्दै बच्ची जवान भइन्।

आफै संघर्ष गर्दै अगाडि बढ्नुपर्ने उनले प्रिस्कुल विराटनगर हँुदै २०२६ सालमा काठमाडौं त्रिचन्द्र र रत्नराज्यमा पढाउन थालिन्। पढाएको नौ वर्षपछि जावलाखेलस्थित पञ्चायत प्रशिक्षण केन्द्र हुँदै विसं २०३४ मा धनकुटामा महिला प्रशिक्षण केन्द्र, आपूर्ति मन्त्रालय, हम्फ्रे फेलोसिप अमेरिका, फेरि आपूर्ति हुँदै २०४६ पछि नेपालको पहिलो महिला सीडीओ भइन्। उनको नाम सामान्य ज्ञानमा पढ्नुपर्ने भयो।

उपत्याकाका तीनै जिल्ला, बाँके, सोलुखुम्बु, मुस्ताङ र वीरगन्जमा सीडीओ चलाइन्। केटी मान्छे पनि सीडीओ हुन्छन् भनेर मान्छे सीडीओको अफिसमा छिरेर चेयरमै बसेकी उनलाई सोध्थे खोई सीडीओ साब भनेर।

मै हुँ भनेर भन्दा नमानेपछि ल जानुस् त्यसो भए भन्थिन् मान्छेलाई बाहिर जानुस् भन्दा केटी मान्छेले भनेर हामी जान्छौं भन्ने समय थियो। जबरजस्ती बाहिर पठाउनुपथ्र्याे।

फेरि त्यही मान्छे ए सीडीओ साब हजुर नै पो भनेर आउँथे। सरुवा गर्यो भने केटी मान्छेले गरेको कहीं हामी जान्छौं भन्थे। बाध्य भएर उनीहरू जानै पर्दथ्यो।

पहिलो महिला सीडीओ बनेकाले महिला कमजोर हँुदैनन् भनेर देखाउनुपर्ने प्रेसरले पनि होला, जहाँ बसिन् राम्रो काम गरिन्। पर्ती अतिक्रमणविरुद्ध अभियान जहाँ बस्यो त्यहीं थालिन्।

घूसखोर, डाँका, चोर निर्मूल गर्न सकेसम्मको प्रयास गरिन्। जहाँ बसिन् इमानदार बनेर मेहनती बनेर काम गरिन्।
झापा शरणार्थी शिविरमा हँुदा पाँच महिना जागिरको समय हँुदै अवकाशको पत्र आयो। पाँच महिना त हो भइहाल्यो भनेर छाडिनन्, त्यो पत्र दिने सचिवविरुद्ध अदालत गइन्।

एक रुपियाँ भए पनि ती सचिवलाई जरिवाना गराइन्। ती सचिवले गरेको अन्यायको फल पाए उनी कहींकतै कहिल्यै नियुक्त हुन पाएनन्।

अवकाशपछि तीर्थयात्रा गरिन्। २०६३ पछि निर्वाचन आयुक्त बनिन्। अहिले रिटायर्ड भएर आफ्नो विगत पल्टाउँदै आराम गर्ने बेलामा उमेर प्रदत्त रोगले समातेको छ। बच्चा हुँदै वयस्क र वृद्धावस्थामा आइपुगेकी उनी उमेरलाई अंक जस्तै मान्छिन्।

जीवनभर विवाह नगरी, जीवनभर कसैसँग कसैले यसो गर्यो नभनी स्वच्छ व्यक्तिका रूपमा मर्न पाउनु पनि भाग्य हँुदो रहेछ।

यो मत्र्यलोक हो। यहाँ उडिरहेका चरादेखि हिँडिरहेका मान्छेहरू पनि मर्छन्। एक दिन जाने अनित्य संसारमा मर्नुअगाडि आफ्ना कुरा अक्षरमा लेखियो भने नै नयाँ पुस्ताले थाहा पाउने हो भनेर उनले ‘पहिलो महिला सीडीओ’ पुस्तक लेखिन्। उषा नेपाल अरू महिला जस्तै हुन्।

तर दुरुस्तै भइनन्। संघर्षको गाथा बन्यो। एउटा कथा यस्तो बन्यो जुन सधैं पढिरहन मिल्ने बन्यो। एक ऐतिहासिक महिलाका रूपमा सामान्य ज्ञानमै उनले नाम दर्ता गरिन्। उनको कथा पढ्दा लाग्छ त्यस्तो जीवन भोगेर पनि मान्छे यस्तो बन्न सक्दो रहेछ।

जीवनमा अनायासै नसोचेको घटना आइदिन्छ। अप्रत्याशित, अनौठो र आश्चर्यचकित ढंगमा आउने सकारात्मक र नकारात्मक कुरालाई हामीले भोग्नैपर्छ।

यसलाई नै जीवन भनिन्छ। ‘ट्राफिक कन्ट्रोल अफ थट’ विचार नियन्त्रणको नियममा विचारलाई पनि रोकी हेरी जान दिनुपर्छ भनिन्छ।

एक घण्टा बितेपछि एक मिनेट रोकेर आफ्नो विचार केकस्तो आइरहेको छ यो हेर्नुुपर्छ। लामो सास तानेर आँखा बन्द गरेपछि आफूमा आएको खराब विचार हटाउँदा जाम खुलेजस्तै दिमाग चंगा/पुनर्ताजगी हुन्छ भनिन्छ। यो नियम यसैका लागि हो भनेर विद्वान्ले भनेका छन्।

यसरी जीवन कमैले चलाएको हुन्छ। जस्तो विचार वा घटना आए पनि मनलाई नियन्त्रण गरेर अगाडि बढेमा सफलता हात पर्छ। उषा नेपालको जीवनले यही सिकाउँछ।

उनले लेखिन् कथा बन्यो। नलेख्नेहरू व्यथा लिएर बाँचिरहेछन्। यस्तो फरक कथा बन्यो। जो पढ्यो कि ऊर्जा मिल्छ। अहिले पनि सानेपास्थित उनको घरमा उनलाई सुन्न गयो भने उत्तिकै ऊर्जा मिल्छ।

 

प्रतिक्रिया दिनुहोस्