संविधान दिवसमा प्रदेश ५ का ३५ जनालाइ पदक, सहिदहरुलाइ मरणोपरान्त पदक



नरेन्द्र केसी,दाङ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसमा घोषणा गरिएको पदक प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पदक पाउने व्यक्तिहरुलाई विभुषित गरिने छ ।

पदक पाउनेमा लुम्बिनीको विकासमा योगदान दिएका जापानका भिक्षु नावातामेलाई मरणोपरान्त बुद्ध शान्ति पदक प्रदान गरिएको छ । त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम साहित्यकार मोदनाथ प्रश्रित,प्रदेश प्रमुख जनसेवा द्वितीय पत्रकार एंव साहित्यकार कृष्ण सेन इच्छुक मरणोपरान्त, प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न विशिष्ट कार्य गरेका डा. प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्यसैगरी संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गर्नुभएका दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा तृतीय दिने निर्णय गरिएको छ ।

संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेका पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिने निर्णय गरिएको छ ।

त्यसैगरी प्रदेशको विकासमा योगदान गरेका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्वल दीप प्रथम प्रदान गरिएको छ ।

प्रदेशको प्रमुख सचिवको रुपमा उत्कृष्ट काम गरेका डा. तीथ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा उत्कृष्ट काम गर्नुभएका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण द्वितीय प्रदान गरिएको छ ।

समाजसेवा श्री प्रथमबाट पत्रकारितामा उत्कृष्ट योगदान गर्नुभएका दाङका नारायणप्रसाद शर्मा, समाजसेवा श्री द्वितीयबाट प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएका गुल्मीका शमसेरबहादुर खत्री मरणोपरान्त, संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका दाङकि हिमा उपाध्याय मरणोपरान्त,प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नुभएका बाँकेका अशोककुमार क्षेत्रीलाई प्रदान गरिएको छ ।

त्यसैगरी समाजसेजवा श्री तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गर्नुभएका डा. लेखराज सुवेदी,समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका पाल्पाका घण्टप्रसाद अर्याल,स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गर्नुभएका रुपन्देहीका एजाज आलमलाई प्रदान गरिएको छ ।

थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेका दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, प्रदेश रत्न द्वितीय शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई मरणोपरान्त, कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशिधर पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाँच जनालाई दिइदै छ । प्रदेश रत्न तृतीय पाउने भाषा साहित्यको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका कपिलवस्तुका डा. विष्णुराज आत्रेय,चित्रकला र मूर्तिकलाको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गर्नुभएकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका सोमपाल कामी रहनुभएकोछ ।

त्यसैगरी पुथा श्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गर्नुभएका बाँकेका कृष्णलाल चौधरीलाई दिने निर्णय गरिएको छ ।

प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी बाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गर्ने निर्णय गरिएको छ ।

प्रजापति गौतमी तृतीयबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका दाङकि पिमकुमारी गिरी र रोल्पाकि भागिरथी घर्तीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

दङ्गीशरण बलिहाङ प्रथमबाट थारु भाषा साहित्यमा उत्कृष्ट योगदान गर्नुभएका सगुनलाल चौधरी बेपत्ता, दङगीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गर्नुभएका जीतबहादुर थापा मगर मरणोपरान्त लाई प्रदान गरिएको छ ।

त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारु भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्नुभएका बर्दियाका एकराज चौधरी,उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका बाँकेका अब्दुल लतिफ सौफ, अवधि भाषा साहित्यमा उल्लेख्य योगदान गर्नुभएका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्