प्रदेश नं २ का मन्त्रीले गरे संविधान दिवस बहिष्कार मुख्यन्त्री राउत अल्पमतमा



वीरगन्ज, (नेस)। सरकारले आज संविधान दिवस मनाउने भव्य तयारी गरिरहँदा सो निर्णयबाट प्रदेश नं.२ सरकार पछि हटेको छ।केही दिनअघि सत्तारुढ समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेपछि प्रदेश सरकार पछि हटेको हो।

प्रदेश नं.२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस ३ दिनसम्म भव्य रुपमा मनाउने सूचना नै जारी गरेको भए पनि बिहीबार पहिलो दिन जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाइ तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेशका मन्त्रीहरू सहभागी भएनन्।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँलको अगुवाइमा गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरू भने सहभागी भएका छन्।

मुख्यन्त्री लालबाबु राउत संविधान दिवस मनाउने योजनामा रहे पनि मन्त्रिपरिषद्मा आफैं अल्पमतमा पर्नुभएको थियो।आफू आबद्ध दलले संविधान दिवसको सवालमा न मनाउने न विरोध गर्ने नीति लिएपछि उहाँपछाडि हट्नुभएको हो।

प्रदेश नं.२ को सत्तारुढ दल राजपाले भने विरोध जनाएको छ। स्थानीय तहको सरकार प्रमुख र प्रदेशकै मन्त्री तथा सांसद भएका राजपाले भने २ नम्बर प्रदेशमा विरोध जनाएको हो।

संविधान दिवसकै दिन पनि मधेसका नागरिकहरू मारिएका कारण आफूहरूले संविधानको विरोध गरेको प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताउनुभयो। संविधान दिवसको विरोध गर्दै बिहीबार पर्सामा कालोझन्डासमेत प्रदर्शन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्