पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन   



न्युज अफ नेपाल,  बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिनुभयो ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो । सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने सङ्घर्ष समितिले जनाएको छ । अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको पुल निर्माण सङ्घर्ष समितिले जनाएको छ ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ । यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि शुरु भएको हो । झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौँ पहिले बनेको जीर्ण झोलुङ्गे पुलबाट वारपार गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्