संविधान दिवस आएसगैं सरसफाईमा तिब्रता



प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा बिहीबारदेखि यस वर्षको संविधान दिवस मनाउन सुरु भएको छ । यसअघि जिल्ला समन्वय समितिको कार्यालयमा बसेको जिल्लास्तरीय समारोह समितिको वैठकले गरेको निर्णय अनुसार संविधान दिवस–२०७६ मनाउन लागिएको हो ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन आज जिल्लास्थित सरकारी कार्यालयहरुको परिसरमा सरसफाई गरिएको छ । म्याग्दी जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसर सरसफाई गरेका छन् । सरसफाइका क्रममा कार्यालय परिसरमा रहेको फोहोर सङ्कलनका साथै जल्ने र नजल्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरी सरसफाई गरिएको कार्यालयले जनाएका छन् ।

यसैगरी कार्यालयमा रहेको झार, जङ्गल तथा झाडीको समेत सरसफाई गरिएको छ भने रुखका अनावश्यक हाँगाबिँगा पनि काटिएको छ । यसैबीच सरसफाई कार्यक्रमको समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलगत अनुगमन गरेका छन् । जिल्लास्थित सबै सरकारी कार्यालयले सरसफाई गरेको र साँझमा दिपावली गर्नका लागि सरकारी तथा गैरसरकारी कार्यालय र आम सर्वसाधारणलाई आग्रह गरिएको जिसस प्रमुख केसीले बताए ।

दिवसको पहिलो दिन आजै ‘वर्तमान संविधान र यसका सबल पक्षहरु’को विषयमा अन्तरमावि जिल्लास्तरीय निबन्धलेखन प्रतियोगिता समेत सम्पन्न भएको समारोह समितिले जनाएको छ । त्यस्तै दिपावलीसहित सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, संविधान दिवसको दिन बिहान प्रभातफेरी र्यालीसहित बेनीबजारको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ ।

त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन आउँदो शनिबार गैरसरकारी संस्था महासंघ म्याग्दीको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको समन्वयमा संविधान दिवस–२०७६ र दीगो विकास लक्ष्य–२०१९ को उपलक्ष्यमा अन्तत्र्रिmया कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्