एसएसपी राई एक रुपैयाँ घुस खाएको पत्ता लागे बर्दी फुकालेर सेवाबाटै बिदा हुने



न्युज अफ नेपाल, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले एक रुपैयाँ घुस खाएको पत्ता लागेका दिन बर्दी फुकालेर प्रहरी सेवाबाटै बिदा हुने बताएका छन् ।

ललितपुर परिसरका प्रमुख राईले आफ्नै कार्यकक्षमा प्रेस मिट गरी सो कुरा बताएका हुन् । ललितपुरको दक्षिण भेगमा भएको ढुंगा खानीबाट ललितपुरका प्रहरीले मोटो रकम लिएर अवैध रुपमा खानी सञ्चालन हुने गरेको आरोप लाग्दै आएकोमा राईसँग एसएसपी राईको धारण माग गरेका थिए ।

पत्रकारको जिज्ञासामा राईले भने, अहिलेसम्म कसैबाट एक रुपैयाँ लिएको छैन  र, लिने पनि छैन । मेरो स्ट्रेन्थ मध्येको यो पनि एक हो ।
एसएसपी राईले ललितपुरमा हुने गरेको क्रसर तथा ढुंगा खानी कानुन बमोजिम सञ्चालन भएको पाइए प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाही गर्ने बताए ।

प्रहरीकहाँ उजुरी दिने उजुरीकर्ताले उजुरी लेखेबापत लेखापढी गर्न बसेका व्यक्तिलाई पैसा तिर्दै आएकाले अब त्यो समस्या ललितपुरबाट हटाउने उनले प्रतिबद्धता जनाए । त्यसका लागि विभिन्न प्रकारका उजुरीका नमुना फाराम प्रहरीले नै कम्युटरबाट टाइप गरेर फोटोकपी गरेर राख्ने र सेवाग्राही आएका बेला उपलब्ध गराउने उनले बताए ।

प्रहरीभित्रै हुने आन्तरिक शुद्धीकरणमा पनि आफू कटिबद्ध भएर लाग्ने एसएपी राईको भनाइ छ । आफूमा भएको असन्तुष्टि प्रहरीले सर्वसाधारण नागरिकमा पोख्न नहुने भन्दै त्यस्तो पाइए तत्कालै कारबाही गर्ने पनि राईले बताए ।

आफ्नो मातहतका प्रहरीभित्र केही नराम्रो काम भए त्यसको पनि जिम्मा लिने र कानुन बमोजिम कारबाही गरिने एसएसपी राईले बताए। राईले ललितपुरमा आफ्नो कार्यकाल स्मरणीय बनाउने दाबी गरे, यसअघिभन्दा अब ललितपुर क्षेत्रमा अपराधमा न्यूनीकरण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्