च्याम्पियन्स लिगः पीएसजीको ‘पावर प्ल्ये’, रियल मड्रिड स्तब्ध



च्याम्पियन्स लिग फुटबलको उपाधि सर्वाधिक बिजेता रियल मड्रिडले यस सिजनमा खराब सुरुवात गरेको छ ।

१३ पटक उपाधि जितेको रियल मड्रिड फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित भएको हो । समूह ए अन्तर्गतको बुधबार राति भएको पहिलो खेलमा घरेलु मैदानमा स्टार खेलाडी विहीन पिएसजीले गतीलो जित निकालेको छ ।

चोटका कारण केलिएन एमबाप्पे र एडिन्सन काभानी बाहिर रहेको पिएसजीले रियललाई ३–० ले पराजित गरेको हो । यस्तै च्याम्पीयन्स लिगमा अर्का स्टार खेलाडी नेइमार प्रतिबन्धका कारण पिएसजीको टिममा थिएनन् ।

पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरेका हुन् । डी मारियाले १४ र ३३ औँ मिनेटमा गोल गरेका थिए भने मुनिएरले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि पिएसजी विजयी बनेको थियो ।

यो हारले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढाएको छ । पहिलो कार्यकालमा निकै सफल रहेका जिदानको दोस्रो कार्यकाल भने अहिलेसम्म त्यति राम्रो देखिएको छैन ।

गएको सिजनको अन्त्यतिर प्रशिक्षकको जिम्मेवारी दोस्रोपटक सम्हालेका जिदानको जित दर त्यसयता ५० प्रतिशत भन्दा कम छ । यहि सिजन क्लब आएका इडन हजार्डले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा डेब्यु गरे ।

यो समरमा ठूलो रकम खर्चेर पनि रियल मड्रिडले खासै राम्रो खेल्न सकिरहेको छैन । समूह ए अन्तर्गतकै खेलमा क्लब ब्रुग्ग र गालातासारेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्