मुस्ताङको स्याउ बजारमा आयो, खरिद गर्नका लागि व्यापारी बोटमै पुगे



न्युज अफ नेपाल, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ नेपाली बजारमा आउन थालेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा कृषकहरुले व्यावसायिक रुपमा उत्पादन गरेको स्याउ बजारमा पुगेको हो ।

स्याउ पाकेपछि मुस्ताङका कृषकको बगैंचामा अहिले देशका विभिन्न स्थानबाट व्यापारीहरु खरिद गर्न पुगेका छन् । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित विभिन्न बजारमा पुग्ने गरेको छ । कुल १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा ३ सय ७० हेक्टरमा लगाएको स्याउले उत्पादन दिएको छ ।

पटकपटक परेको हिमपातका कारण विगतको तुलनामा यसवर्ष स्याउ उत्पादन राम्रो भएको मुस्ताङ हेर्नेगरी बेनीमा रहेको कार्यालय कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउ फल्न हुन थालेको छ ।

उपल्लो मुस्ताङको चराङ, घमी लगायतका क्षेत्रमा स्याउ उत्पादन हुने गरेको बागवानी विकास अधिकृत थापाको भनाइ छ । यसवर्ष म्याग्दीको बेनीमा तीज पर्वदेखि नै मुस्ताङको स्याउ आएको उहाँले बताउनुभयो ।

नेपाली बजारमा स्याउ सजिलै बिक्री हुनेहुँदा व्यापारीहरु कृषकको बगैंचामै पुग्छन् । स्याउ खरिदका लागि बगैंचामा पुग्ने व्यापारीहरुले ठेक्कामा स्याउको बगैंचा नै खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीहरुले कार्टुन र डोकोमा पनि स्याउ खरिद गरेर बिक्री गर्दै आइरहेका छन् ।

मार्फाका स्याउ उत्पादक कृषक दिपक लाल्चनले आफूले २५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ ठेकेदारलाई बिक्री गरेको बताउनुभयो । उहाँले कार्टुनको हिसाबमा ‘ए’ ग्रेडको स्याउलाई प्रतिकेजी दुईहजार र ‘बि’ ग्रेटलाई एकहजार छ सय रुपैयाँका दरले बिक्री गरेको जानकारी दिनुभयो ।

यसवर्ष धादिङ र पोखराबाट व्यापारीहरु स्याउ खरिद गर्न मार्फा आइपुगेको भन्दै उहाँले आफ्नो बगैंचामा साढे ५ सयजति स्याउका बोटहरु रहेको जानकारी दिनुभयो । बोटमा प्रतिकेजी होलसेल ७० रुपैयाँमा पाइने स्याउ बजारमा आइपुग्दा दुईसय रुपैयाँभन्दा माथि मुल्य पर्ने गरेको छ ।

म्याग्दीको बेनीमा भने ग्रेट अनुसार एकसय ५० देखि दुईसय रुपैयाँ मुल्यमा बिक्री वितरण भैरहेको छ । मुस्ताङको मार्फामा सबैभन्दा धेरै स्याउ फल्ने गरेको छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ ।

किसानले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाउँछन् । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ उत्पादन हुँदै आएको छ ।

गतवर्ष मुस्ताङबाट ५ हजार ४ सय ५५ मेट्रिक टन स्याउ निर्यात भएको थियो भने यसवर्ष त्योभन्दा धेरै निकासी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्