ट्राइ एडभेन्चर प्रतियोगिता सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा नेपाली सेनाले आयोजना गरेको तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगिता सम्पन्न भएको छ।

धादिङको बैरेनीदेखि चरौंदीसम्म सञ्चालन भएको यस साहसिक प्रतियोगितामा ६.७ कि.मि. दौड, २६ कि.मि. साइक्लिङ र ११ कि.मि. र्याफ्टिङ गरी ३ (तीन) वटा इभन्टमा जम्मा दुरी ४३.७ कि.मि. रहेको थियो।

१५ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको २ टिमसहित स्वदेशी १० टिम र विदेशका ५ टिम को सहभागिता रहेको थियो।

माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता जनाएका थिए भने पाकिस्तानबाट अब्जरभरकोरूपमा १ जना अधिकृत उपस्थित रहेका थिए।

प्रतियोगितामा सहभागी टिम मध्ये २ घन्टा २० मिनेट ४८ सेकेन्डमा उक्त दुरी पार गरी प्रथम हुने आर्मी ‘ए’, २ घन्टा २५ मिनेट ३२ सेकेन्डमा दुरी पारगरी दोस्रो हुने भारतीय सेनाको टिम ’ए’र २ घन्टा २६ मिनेट १५ सेकेन्डमा दुरी पार गरी तेस्रो हुने भारतीय सेनाकै टिम ’बी’ लाई प्रधानसेनापति महारथी थापाले ट्रफी तथा नगद पुरस्कार क्रमशः रु १ लाख ५० हजार, १ लाख र रु ७५ हजार प्रदान गर्नुभयो।

महिलातर्फ ३ घन्टा १८ मिनेट २० सेकेन्डमा दुरी पार गरी प्रथम हुने एनटीए टिम ’एन’ र ४ घन्टा १४ मिनेट ५० सेकन्डको समयावधिका साथ दोस्रो हुन सफल प्याडल्स नेपाल टिम ’पी’ लाई उहाँले ट्रफी तथा नगद पुरस्कार क्रमशः रु ५० हजार र रु ३० हजार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा भारतीय सेनाको टिम ’ए’ उत्कृष्ट अन्तर्राष्टिय टिम बन्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्