पहिलो पटक माझी कप



हेटौंडा, (नेस)। प्रथम राष्ट्रिय माझी गोल्डकप २०७६ मकवानपुरमा हुने भएको छ। बिहीबार नेपाल माझी उत्थान संघ जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

फुटबलमा माझी समुदायका युवालाई सहभागी गराएर सीमान्तकृत समुदायको पहिचानमा सहयोग पुर्याउने उद्देश्यसाथ मकवानपुरमा यस्तो प्रतियोगिताको तयारी थालिएको हो।

नेपालमा पहिलोपटक माझी समुदायका खेलाडीको मात्र सहभागितामा प्रतियोगिता हुन लागेको आयोजकले बताएको छ।

बकैया गाउँपालिका–४, जुरेलीमा कार्तिक १ गतेदेखि ९ गतेसम्म हुने नकआउट खेलमा करिब १६ टिमको सहभागिता रहने अनुमान गरिएको आयोजकले बताएको छ।

विजेतालाई १ लाख, द्वितीयलाई ५० हजार पुरस्कार रहेको खेल संयोजक श्यामसुन्दर माझीले जानकारी गराए। खेलमा वेस्ट प्लेयरलाई ५ हजार पुरस्कार व्यवस्था गरिएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्