नेपालबाट बेपत्ता आफ्ना भूतपूर्व सैनिक खोज्न भारतले सहयोग नगरेको पाकिस्तानको आरोप



काठमाडौं।पाकिस्तानले झन्डै साढे दुई वर्षअघि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका पाकिस्तानी सेनाका एक पूर्वअधिकारीको खोजीमा सघाउन भारतलाई बारम्बार अनुरोध गरे पनि सकारात्मक उत्तर नपाएको बताएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी क्षेत्रबाट हराएका पूर्वसैनिक कर्नल मोहम्मद हबिब जाहिरको विषयमा बुधवार यस्तो धारणा सार्वजनिक गरेका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै उसले भारतीय गुप्तचर निकायका अधिकारी कुलभूषण जाधवसँग गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

त्यसको भोलिपल्ट पाकिस्तानले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अवकाशप्राप्त सैनिक अधिकारी जाहिर भारतीय हिरासतमा रहेको अनि जाधवसँग उनलाई साट्न खोजिएको भन्ने विषयमा पत्रकारबाट प्रश्न प्राप्त भएको भन्दै आफ्नो यो धारणा सार्वजनिक गरेको हो।

सन् २०१६ मा पाकिस्तानमा पक्राउ परेका जाधवलाई त्यसको एक वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको थियो। अहिले उनी पाकिस्तानी कारागारमा छन्।

जागिरको प्रलोभन

पाकिस्तानी सेनाको वरिष्ठ पदबाट अवकाश पाएका जाहिर एउटा आकर्षक जागिरको आशामा नेपाल आएको बताइन्छ। तर उनी बेपत्ता भए।

नेपाली सुरक्षा निकायले उनको खोजीको प्रयस गर्‍यो। तर आफ्नो अनुसन्धानमा उनी कहाँ गए वा कहाँ छन् भन्ने प्रमाण भेट्न नसकिएको नेपाली सुरक्षा निकायहरूले बताउने गरेका छन्।

उनले अवकाशपछि रोजगारी खोज्दै राष्ट्रसङ्घको वेबसाइट तथा लिङ्क्डइनमा आफ्नो व्यक्तिगत विवरण राखेका थिए।

इन्टरनेटमा उपलब्ध विवरण र उनको रुचिलाई आधार मानेर आफूलाई मार्क नामले चिनाउने एक व्यक्तिले टेलिफोन गरी जाहिरलाई नयाँ जागिरका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको पाकिस्तानको भनाइ छ।

मार्कले पठाएको विमानको टिकट प्रयोग गरेर लाहोरबाट ओमान हुँदै सन् २०१७ को एप्रिल ६ मा जाहिर काठमाण्डू आइपुगेका थिए।

त्यो उनको पहिलो काठमाण्डू भ्रमण भएको र उनी विमानस्थलबाट सोझै एउट विमान भैरहवा गएको बताइन्छ।

उनले भैरहवा विमानस्थलमा अवतरण गरेपछि खिचेको आफ्नो फोटो र बोर्डिङ पास परिवारका सदस्यलाई ह्वाट्सएपमार्फत् पठाएको बताइन्छ।

त्यसपछि उनको मोबाइल बन्द भएको र परिवारसँग सम्पर्क टुटेको भनिएको छ।

उनले विमानस्थलमा खिचेर परिवारलाई पठाएको तस्बिर सार्वजनिक भइसकेको छ।

जाहिरलाई नेपाल बोलाउने व्यक्तिले छद्म नाम प्रयोग गरेको र बोलाउन प्रयोग गरिएको फोन नम्बर कम्प्युटर वा इन्टरेटमार्फत् स्वचालित रूपमा उपलब्ध गराइने नम्बर भएको देखिएको पाकिस्तानी पक्षको दाबी छ।

बुधवार प्रकाशित विज्ञप्तिमा जाहिरलाई सम्पर्क गर्न प्रयोग गरिएको भनिएको वेबसाइट भारतबाट सञ्चालित भएको र पछि त्यसलाई हटाइएको पाइएको उल्लेख छ।

हराएको अढाइ वर्ष पुग्न लाग्दा रोजगारीको अन्तर्वार्ताका लागि जाहिर भारतसँगको सीमाभन्दा पाँच किलोमिटर पर अवस्थित क्षेत्रमा किन गएका थिए भन्ने स्पष्ट हुन सकेको छैन।

कसैले उनको गतिविधि सम्भावित गुप्तचरीको अंश हुन सक्ने ठानेका छन् भने कसैले उनलाई भारतीय गुप्तचरहरूले प्रलोभनमा पारेर त्यहाँ झिकाएको आशङ्का व्यक्त गरेका छन्।

भारतको संलग्नताको सङ्केत



जाहिर नेपाल(भारत सीमा नजिकैबाट बेपत्ता भएा, भारतीय नागरिकहरू उनलाई लिन आएका, होटल र टिकटको जोहो गर्न पनि भारतीय नागरिकहरूको संलग्नता देखिएको भन्दै पाकिस्तानले उनको खोजीमा आफूले भारतको सहयोग चाहेको उल्लेख गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानले बारम्बार भारतलाई उनको खोजीका लागि सघाउन अनुरोध गरेको छ तर भारतीय पक्षबाट कुनै पनि सकारात्मक उत्तर पाउन सकिएको छैन।”

उनी बेपत्ता भएलगत्तै पाकिस्तानी अधिकारीहरूले उनलाई झुक्याएर नेपालबाट बन्धक बनाइएको प्रतिक्रिया दिएका थिए।

विदेश मन्त्रालयको नयाँ विज्ञप्तिमा पनि पाकिस्तानले आफूसँग दुस्मनी राख्ने निकाय नै जाहिरलाई बेपत्ता बनाउन संलग्न भएको नकार्न नसकिने दोहोर्‍याएको छ।पाकिस्तानको खोजी प्रयासलाई जारी राखिने पनि उल्लेख गरेको छ।

यसअघि सन् २०१७ को जुनमा एक पाकिस्तानी मन्त्रीले डन समाचारपत्रलाई भारतीय गुप्तचर निकाय वा भारतीय सरकारको संलग्नता देखिने कुनै किसिमको अन्तिम प्रतिवेदन आफ्नो सरकारसँग नभएको बताएका थिए।

जाहिर बेपत्ता भएपछि त्यसबारे सोधिएको प्रश्नमा आफूलाई केही थाहा नभएको भारतीय विदेश मन्त्रालयले बताएको थियो।

त्यसयता सार्वजनिक भएका कतिपय विवरणमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण जाधवलाई पक्राउ गर्ने टोलीमा जाहिर पनि रहेको दाबी गरिएको छ।

तर पाकिस्तानले बेपत्ता हुनुभन्दा झन्डै चार वर्षअघि नै जाहिरले सेनाबाट अवकाश पाएको जनाएको छ।

उनको खोजीका लागि विशेष पहल गर्न पाकिस्तान सरकारलाई अनुरोध गर्दै आएको जाहिरको परिवारले सहयोग माग्दै व्यक्ति बेपत्ता पार्ने विषय हेर्ने जिनिभास्थित राष्ट्रसङ्घीय निकायको पनि ढोका घच्घच्याएको छ।बिबिसी

 

प्रतिक्रिया दिनुहोस्