उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचनको रौनक बढ्यो



पुष्कर बुढाथोकी, भक्तपुर।निर्वाचन आयोगले रिक्त स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्न तय गरेको मिति नजिकिएसँगै भक्तपुरको राजनैतिक माहोल तात्न थालेको छ।

३ नम्बर प्रदेशअन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगु प्रदेश (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन पश्चात् उक्त स्थान रिक्त रहेको छ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल मतदाता ४३ हजार ५ सय ५२ थिए। तीमध्ये ३२ हजार ८ सय ३८ मत खसेको थियो। यसमा ८ सय ७५ मत बदर भएको थियो। निर्वाचित सांसद लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए। नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत ल्याएर तेस्रो भएका थिए।

२०७५ वैशाख ३१ गते सांसद लामिछानेको मष्तिस्क घातका कारण निधन भएको थियो। उनी तत्कालीन एमालेबाट उम्मेद्वार बनेका थिए। यसर्थ नेकपाका लागि यो क्षेत्र प्रतिष्ठासँग जोडिएको छ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल मतदाता ४३ हजार ५ सय ५२ थिए। तीमध्ये ३२ हजार ८ सय ३८ मत खसेको थियो। यसमा ८ सय ७५ मत बदर भएको थियो।

निर्वाचित सांसद लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए। नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत ल्याएर तेस्रो भएका थिए।

यस्तै नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले ७ सय ८४, विवेकशील साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ मत ल्याएका थिए। अर्थात् नेकपा र कांग्रेसका उमेदवारबीच २ हजार ८ सय मतको फरकमा चुनाव जितेका थिए।

यो तथ्यांकलाई आधार मान्ने हो भने अहिले पनि नेकपाका लागि केही सहज त देखिएला तर एकातिर सरकारप्रति जनताको घट्दो आकर्षण र अर्कातिर कांग्रेस र नेमकिपाले कस्ता उमेदवार खडा गर्छन भन्नेमा धेरैले अनुमान गर्न थालेका छन्। आगामी उपनिर्वाचनमा त्यसले पनि मत परिणाममा प्रभाव पार्ने देखिन्छ।

रिक्त स्थानको लागि उप निर्वाचन हुने भएपछि प्रदेश सभा सदस्य पदका लागि विभिन्न राजनीतिक दलका तर्फबाट नेताहरूले आफूले टिकट पाउनुपर्ने दाबी गर्न थालेका छन्।

प्रदेश सभा सदस्य पदका लागि प्रदेश भित्रबाट जोकोही लड्न पाउने भएपनि दलका स्थानीय नेताहरू टिकट स्थानीयले नै पाउनुपर्ने जिकिर गरेका छन्।

प्रदेश सभा सदस्यले त्यस्ता ठूला जिम्मेवारी नपाएको गुनासो गरिरहेको बेला पनि अझैं लामो समय निर्वाचन नहुने भएपछि आकांक्षी बढेको दलहरू बताउँछन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि प्रदेश सभा सदस्य कसलाई बनाउने भनेर अन्यौलमा परेको छ।

पर्वएमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उनकै पत्नीलाई टिकट दिनुपर्ने आबाज पनि उठेको छ।

लामिछानेकी पत्नी राजनीतिमा खासै चासो नराख्ने भएकोले पार्टीमा योगदान पुर्याएका नेतालाई टिकट दिनुपर्ने अरूले जिकिर गर्दै आइरहेका छन्।

यस्तै पुरानालाई पाखा लगाइयो भनेर गुनासो बढी रहँदा नेकपाका पुराना नेता मोहनवीर श्रेष्ठ पनि प्रमुख दाबेदार हुन सक्छन्।

यस्तै शम्भु दाहाल, दामोदर दंगाल, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वाँ, रमेश बुढाथोकीको पनि टिकटका लागि दाबेदारी रहेको छ। श्री भक्त र रमेश व्यवसायी हुन् भने शम्भु कानुन व्यवसायी।

शम्भु दाहाल चाँगुनारायण नपाका प्रमुख सोम मिश्रका कानुनी सल्लाहकारका रूपमा कार्यरत छन्। पूर्वमाआवादीबाट प्रदेश सभा सदस्य पदका उमेद्वार डिपी ढकालले हरिशरण लामिछानेलाई छाडेर उम्मेद्वारी फिर्ता लिएका कारण अहिले उनलाई नै टिकट दिनुपर्ने पूर्वमाओवादीको जिकिर रहेको छ।

यस्तै नेपाली कांग्रेसमा पनि आकांक्षीको भीड लागेको छ। नेपाली कांग्रेस भक्तपुरले निर्वाचनका लागि अहिलेदेखि नै भातृ संगठन तरुण दललाई सक्रिय बनाएको छ।

कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य पदमा पराजित उमेद्वार जीवन खत्रीले पुनः उम्मेद्वारी दिने बताएका छन्। पहिलो संविधान सभा सदस्य पदमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेलाई टक्कर दिएका कृष्णलाल भँडेलले पनि उम्मेद्ववारीको दाबी गरेसँगै नेपाली कांग्रेस भक्तपुरको आन्तरिक प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुग्ने भएको छ।

पहिले उम्मेद्ववारी दिई सकेकाले टिकट पाउँनु हुन्न नयाँलाई दिनुपर्छ भनेर एकाथरीको जिकिर रहेको छ। अरू आकांक्षीमा जगन्नाथ कार्की, सुरेश श्रेष्ठ, हरिप्रसाद नेपाल, यादव अधिकारी, राजाराम खड्का र किरण न्यौपाने र मनोज थापा रहेका छन्।

नेपाली कांग्रेसले निर्वाचनलाई सहयोग गर्न बिना सर्त पार्टीमा सहभागी हुन आह्वान गरेमा यसअघि पार्टी छाडेका प्रवीन वन र शंकर गौतमको पनि टिकट पाउने सम्भावना रहेको छ।

राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेको उमेदवारीमा दाबेदारी रहेको छ। राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपाने, श्याम नेपाललगायतको दाबेदारी रहेको राप्रपाले जनाएको छ।

विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानको दाबेदारी रहेको छ। नयाँ पार्टी मौलिक जरोकिलोले पनि उमेद्वार उठाउने भएपछि दिपेश न्यौपाने र बलराम प्रजापतिलाई अघि सारेको छ।

नेमकिपाले भने आकांक्षी धेरै भएपनि सार्वजनिक नगर्न आग्रह गरेको छ। उसले पार्टीमा जथाभावी उम्मेदवारलाई आकांक्षा प्रकट गर्न नदिने गरेको छ। एकैपटक उमेदवार दर्ता गर्दा मात्रै उसको उमेदवार सार्वजनिक हुने गर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्