राजनीतिमा अस्तित्वको संघर्ष



डा. टीकाराम पोखरेल

दार्शनिक रुसोले भनेका छन्– ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सधैँ बन्धनमा बाँच्दछ।’ तर यो बन्धन मानिस आफैँले सिर्जना गरेको हो। जन्मदा स्वतन्त्र जन्मेको बालक जति–जति बढ्दै जान्छ उति–उति ठूलो बन्धनमा पर्दै जान्छ।

त्यत्रो १० बर्से युद्ध गरेर आएको तत्कालीन माओवादीसमेत आफ्नो अस्तित्व लोप हुने डरले तत्कालीन एमालेसँग एकता गर्न पुग्यो। कुनै समय शेरबहादुर देउवाले महत्वाकांक्षी भएर कांगे्रस पार्टी फुटाए। फुटेको पार्टीमा अस्तित्व लोप हुने देखेपछि पुनः माउ कांग्रेससँगै एकता गरे। एमाले फुटाएर माले गठन गर्ने वामदेव गौतम पनि देउवाकै हालत हुने देखेपछि पुनः दलबलसहित एमालेमै फर्किए।

मानिसलाई बन्धनमा पार्ने जन्जिर अरू केही नभएर लोभ, डर, पद, प्रतिष्ठा, इज्जत, मान, सम्मान हुन्।
अस्तित्ववादी दर्शनका अनुसार प्रकृतिको अस्तित्वभन्दा व्यक्तिको अस्तित्व बढी महत्वपूर्ण हुन्छ।

अस्तित्वको केन्द्र मानिस हो। मान्छेले अस्तित्वको खोज र त्यसको बोध आफ्ना पीडा, दुःख, क्लेश, विसंगति आदिकै माझबाट गर्दछ। हरेक मान्छे आत्मकेन्द्रित हुन्छ।

कुनै पनि मानिसलाई यो ब्रह्माण्डको आफैँमा कुनै अर्थ र उद्देश्य छैन, जबसम्म उसले आफ्नो अस्तित्व स्थापना गर्न सक्तैन। अस्तित्ववादले सम्पूर्ण जगत्मा मानवलाई अधिक महत्व दिइएको छ। भनिन्छ, मानव एकमात्र साध्य हो।

अस्तित्वको खोजी मानवको जन्मजात गुण हो। चाल्र्स डार्बिनका अनुसार मानिसले बाँच्नका लागि संघर्ष गर्दछ। अस्तित्वको लडाइँ यहीँबाट शुरू हुन्छ।

मानिस जन्मनासाथ बाँच्नका लागि मात्र संघर्ष गर्दछ। तर जब मानिसमा चेतनाका नवआयामहरू भरिँदै जान्छन्, तब उसले पद, प्रतिष्ठा, इज्जत, मान–सम्मानजस्ता कुराहरूको लागि पनि संघर्ष गर्दछ।

पढेर विद्वान् हुन चाहन्छ, पैसा कमाएर धनी हुन चाहन्छ, राजनीति गरेर नेता हुन चाहन्छ। तर प्रतिस्पर्धाको यो दुनियाँमा यी सबै कुरा सोचेजस्तो सजिलो छैन, तब शुरू हुन्छ अस्तित्वको लडाइँ।

मानिस जुन क्षेत्रमा लाग्दछ त्यस क्षेत्रमा आफ्नो पकड जमाउन खोज्नु स्वाभाविक नै हो, तर आफ्नो पकड जमाउने वा अस्तित्वको खोजीमा त्यो क्षेत्रलाई नै तहसनहस पार्नुचाहिँ राम्रो होइन।

अस्तित्ववादका अनुसार हरेक मानिसको अस्तित्व व्यक्तिको वस्तुनिष्ठतामा नभई आत्मनिष्ठतामा छ। त्यसैले मानिस जस्तोसुकै परिस्थितिमा पनि आत्मकेन्द्रित भएर काम गर्दछ।

नेपालका नेताहरूले पनि यही आत्मकेन्द्रित भएर काम गर्दा राजनीति ट्रयाक बाहिर गएको मात्र छैन, नैतिकता गुमाएर अस्तित्वको लडाइँ गर्दा आफू पनि विलीन भएका छन्।

यो दृश्य हेर्न राजनीतिको धेरै इतिहासमा पुग्नुपर्दैन। २०४६ सालपछिको मात्र आँकलन गर्ने हो भने पनि राजनीतिक दल र नेताहरू अस्तित्वको लडाइँ गर्दागर्दै गुमनाम भएका छन्।

नेपाली कांग्रेससँग जनआन्दोलनमा सहकार्य गरेको वाममोर्चाको अहिले हुबहु अस्तित्व छैन। २०४८ को चुनावमा संसद्मा भएको तत्कालीन संयुक्त जनमोर्चा कतिपटक नाम परिवर्तन भएर कताकता पुग्यो।

गजेन्द्र नारायण सिंहको सद्भावना पार्टी पनि नेपालका कम्युनिस्ट पार्टीझैँ पटक–पटक छिया–छिया भएर टुक्रियो।तत्कालीन माक्र्सवादी पार्टी एकीकरणका नाममा तत्कालीन एमालेमा विलय भयो।

अरू त अरू, त्यत्रो १० बर्से युद्ध गरेर आएको तत्कालीन माओवादीसमेत आफ्नो अस्तित्व लोप हुने डरले तत्कालीन एमालेसँग एकता गर्न पुग्यो। कुनै समय शेरबहादुर देउवाले महत्वाकांक्षी भएर कांगे्रस पार्टी फुटाए।

फुटेको पार्टीमा अस्तित्व लोप हुने देखेपछि पुनः माउ कांग्रेससँगै एकता गरे। एमाले फुटाएर माले गठन गर्ने वामदेव गौतम पनि देउवाकै हालत हुने देखेपछि पुनः दलबलसहित एमालेमै फर्किए।

वामदेवसँगै एमालेबाट माले बनाउन लागेका सीपीहरू एमालेमा फर्कन अप्ठ्यारो मानेर उतै कित्तामा बसे पनि अहिले अस्तित्व संकट झेलेर बसिरहेका छन्।

लामो समय अर्धभूमिगत राजनीति गरेका प्रकाशहरू नारायणकाजीको भेषमा तत्कालीन माओवादी प्रवेश गरे। उता माओवादीमा आफ्नो भविष्य नदेखेर बाबुराम भट्टराईचाहिँ नवअस्तित्वको खोजीमा नयाँ शक्ति पार्टी बनाउन लागे।

त्यहाँ त अस्तित्व संकट मात्र होइन, पूरै लोप नै हुने देखेर उपेन्द्र यादवको शरणमा पुगे। त्यसो त एमालेबाट पलायन भएका अशोक राईहरू पहिले नै अस्तित्वको खोजीमा उपेन्द्र यादवको शरणमा पुगिसकेका थिए।

मधेस केन्द्रित दलमध्येमा यो बेला उपेन्द्र यादव अरूलाई अस्तित्व जोगाइदिने पोजिसनमा भए तापनि मधेस केन्द्रित दलको अर्को घटक राजपा भने नेताको अस्तित्व जोगाउनकै लागि छवटा अध्यक्ष पालेर बसेको छ।

आफ्नो अस्तित्व संकट पर्ने ठानेर नै कोही पनि कुनै एकलाई सर्वसम्मत अध्यक्ष मान्न तयार छैनन्। देशका प्रमुख दुई ठूला दल कम्युनिस्ट र कांगे्रस यति बेला आफैँमा अस्तित्वको संकटमा छैनन्।

कम्युनिस्ट पार्टी संसद्मा दुई तिहाइको हाराहारीमा रहेको छ। कांग्रेस चुनाव हारेकै भए तापनि जनताका बीचमा उसको गहिरो प्रभाव बाँकी छ, तर त्यसभित्रका नेताहरूमा भने अस्तित्व संकट छ।

नेताहरूको अस्तित्वको लडाइँमा पार्टी अस्तव्यस्त छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाट रिटायर्ड हुने अवस्थामा पुगिसके, तर उनको पदमोहले त्यसो भन्दैन।

त्यसैले पौडेल पार्टीभित्र देउवासँग अस्तित्वको लडाइँ लडिरहेका छन्। पार्टी आफ्नो पकडमा ल्याउन पौडेलले कसरत गरिरहेका बेला उनका पूर्वसमर्थकहरू भने पौडेलको पछि लागेर आफ्नो अस्तित्वको बचाउ नहुने ठानी छुट्टै गुट बनाएर अस्तित्वको खोजी गर्न लागेका छन्।

सिटौला, शेखर मात्र होइन पछिल्लो पुस्ताका विश्वप्रकाश शर्मादेखि गगन थापासम्म अस्तित्वको लडाइँमा खरो उत्रिरहेका छन्। सत्तारुढ दलमा माधव नेपाल त्यस्तै एक पात्र हुन्।

जसले हिजो पार्टीले चुनावमा हार व्यहोरेको जिम्मेवारी लिँदै नैतिकताको आधारमा महासचिव पद छोडेको घोषणा गरे। तर आज तिनै नेपाल एकपटक आफू पार्टी अध्यक्ष हुनै पर्ने अन्यथा आफू जस्तो वरिष्ठ नेताको अस्तित्व राजनीतिमा स्थापित नहुने मानसिकतामा पुगेका छन्।

नेपाल मात्र होइन झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसालदेखि लिएर तेस्रो तहका नेताहरूसमेत यति बेला कम्युनिस्ट पार्टीभित्र आफ्नो अस्तित्व संकट झेलिरहेका छन्।

अस्तित्वको लडाइँमा नैतिकता गौण हुन्छ र स्वार्थ प्रमुख हुन्छ। राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्दै आफ्नो अस्तित्व जोगाउन जता–जता मिल्दा हुन्छ त्यतै–त्यतै मिल्नु कुनै नौलो होइन।

दोस्रो विश्वयुद्धमा जर्मन–जापान–इटलीविरुद्ध बेलायत–अमेरिका–रुस एक भए। पूँजीवादी राष्ट्र र साम्यवादीबीच स्वार्थ गठबन्धन भयो।

दोस्रो विश्वयुद्धताका नै चीनमा झगडा गरिरहेका च्याङ काइ सेकको कोमिन्ताङ पार्टी र माओको चिनियाँ कम्युनिस्ट पार्टी जापानको आक्रमणविरुद्ध एक भएर लडे। नेपालमा पनि कम्युनिस्ट कांग्रेस अरूलाई सत्ताबाट फाल्न पटक–पटक मिले। तर एक भएर जब अरूलाई फालेपछि फेरि एक–आपसमै भिडन्तमा उत्रिए।

पार्टी होस् वा नेता हुन्, अस्तित्व जोगाउन पटक–पटक यस्ता स्वार्थ कर्ममा उत्रिए। अस्तित्ववादी दर्शनका व्याख्याता किर्केगार्डका अनुसार महान्भन्दा महान् व्यक्तिमा पनि संदिग्धता हुन्छ।

यहाँसम्म कि हरेक व्यक्तिले निर्णय गर्दा आफ्नो अन्तरात्मालाई समेत ढाँटिरहेको हुन्छ। राजनीतिमा आफ्नो अस्तित्वका लागि हाम्रा नेताहरूले पनि देश र जनतालाई मात्र होइन, पटक–पटक आफूलाई समेत ढाँटेका छन्।

हरेक व्यक्तिले आफ्नो अस्तित्वलाई अत्यधिक महत्व दिन्छ। व्यक्तिका लागि आफ्नो अस्तित्वबाहेक बाँकी सबै तपसिलका कुरा हुन्। भनिन्छ, राजनीति सामूहिक विचार, सिद्धान्त र नैतिकताको आडमा हुन्छ।

तर अस्तित्वको लडाइँमा सामूहिक विचार, सिद्धान्त र नैतिकता धेरै पछाडि हुन्छन्। बरु हरेक व्यक्तिका आफ्नै सिद्धान्त हुन्छन्। अरूबाट प्रतिपादित सिद्धान्त मान्नु भनेको व्यक्तिको बाध्यता हो।

आफ्नो सिद्धान्त नै जीवन सिद्धान्त हो। यद्यपि राजनीतिमा परिस्थितिलाई स्वीकार गर्नुको विकल्प पनि नेतासँग हुँदैन। यही आफ्नै सिद्धान्त र परिस्थितिको बीचमा नेताहरूले आफ्नो अस्तित्व खोजिरहेका छन्। अस्तित्वको लडाइँमा सीमाविहीन र बन्धनमुक्त भने कोही पनि छैनन्।

 

प्रतिक्रिया दिनुहोस्