पर्यटन वर्ष र सरकारको नियति



सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० शुरू हुन केही महिना मात्रै बाँकी छ। प्रचारको अवस्था हेर्दा नेपालमा २० लाखभन्दा बढी पर्यटक नेपाल आउँछन् कि भन्ने लाग्दछ।

तर, राजधानीलगायत पर्यटकीयस्थलको अवस्था भने दयालाग्दो छ। पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए पनि पूर्वाधारको अवस्था हेर्ने हो भने दयनीय देखिन्छ। कहीं केही भएको छैन।

राजधानीमा धूलोले रजाइँ गरिरहेको छ। धूलोे–धूवाँका कारण राजधानी बस्ने पर्यटकले आफ्नो भ्रमणलाई छोट्याउने अवस्था सिर्जना भएको छ।

यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा कतै पर्यटन वर्ष नारामा सीमित हुने त होइन भन्ने प्रश्न उठेको छ। सरकारको पछिल्लो अवस्था हेर्दा नै दयनीय देखिन्छ।

भाषणमा ठूल्ठूला सपना देखाउने सरकार सिन्कोसमेत भाँच्न सकेको देखिँदैन। मुलुकको एकमात्र विमानस्थलको हालत पनि उस्तै छ।

त्यहाँ कार्यरत कर्मचारीको रबैयाले नेपाल आउने पर्यटक पुनः नेपाल आउन नमान्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न।

–बिजिता रिजाल, कलंकी

प्रतिक्रिया दिनुहोस्