छिमेकीसँगको मित्रता



छिमेकी दुई विशालकाय भारत र चीनसँगको सम्बन्ध सन्तुलित र प्रगाढ हुनसके नेपालको समृद्धिका लागि धेरै टाढा जानुपर्दैन ।

कुल झण्डै तीन अर्ब जनसंख्याका यी दुई छिमेकीलाई लक्ष्य गरेर पर्यटन व्यवसायलाई मात्र विकास गर्न सकियो भने तीन करोड पनि जनसंख्या नभएको मुलुकको आर्थिक समृद्धि सुनिश्चित छ ।

आर्थिक शक्तिका हिसाबले चीन विश्वको दोस्रो ठूलो शक्ति रहेको छ भने भारत दक्षिण एसियाको महाशक्तिका रूपमा छ ।

भारतसँग खुला सिमानास्तरको सम्बन्ध भएकाले मित्रताका आयामहरू विविध भेटिन्छन्, भाषा–धर्म–संस्कृति–चालचलनदेखि पारिवारिक सम्बन्धभित्र पनि यसले पहुँच बनाएको छ ।

त्यसैले यस सम्बन्धलाई निरन्तरता मात्र दिन सकियो भने अहिलेलाई अरू पक्षमा चिन्तित भइरहनुपर्दैन । तर, चीनसँग सम्बन्ध विस्तारका अनेक पक्ष अझै बाँकी छन्, यद्यपि यस मुलुकसँग पनि शताब्दीयौं पुरानो सम्बन्धमा हामी छौं ।

इतिहास, भूगोल र संस्कृतिले जोडिएका नेपाल र चीन बौद्ध दर्शन र अहिंसाबाट दीक्षित छन् । बौद्ध दर्शनले नै सबैभन्दा पहिले यी मुलुकलाई जोडेको हो ।

नेपाली कलाकार अरनिकाले जीवनपर्यन्त चीनमा बसेर तिब्बत, सान्सी प्रान्तको उथाइसान, हान्जाओ, हवे प्रान्त र भित्री मंगोलियामा थुप्रै गुम्बा, चैत्य, बुद्ध मूर्ति र चित्र बनाए ।

नेपाली राजकुमारी भृकुटीको तिब्बती सम्राट स्रङचङ गम्पोसँगको वैवाहिक सम्बन्धले परिवारको स्तरमा दौत्य सम्बन्धलाई विकसित गर्यो ।

हाम्रो सम्बन्ध बहुआयामिक, जनस्तरमा भिजेको, संस्कृति र ऐतिहासिक सम्बन्धको जगमा अडिएको छ । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएदेखि निरन्तर दुवै मुलुकका नेतृत्वको बुद्धिमत्तापूर्ण भूमिकाका कारण विश्वमा र हाम्रै मुलुक नेपालमा थुप्रै उथलपुथल र परिवर्तन आए पनि हाम्रो सम्बन्ध निरन्तर विकसित, विस्तारित र बलियो बन्दै गयो ।

पछिल्लो समयमा चिनियाँ वरिष्ठ नेता सरकारका प्रतिनिधिहरूले नेपालको भ्रमण गरेर आजको विश्वमा प्रभावशालीमध्ये एक मानिएका चीनका राष्ट्रपति सी जिन पिङको भ्रमण गराउने हदसम्मको अभ्यास चलिरहेको छ ।

यसै क्रममा राष्ट्रपति सीको अध्यक्षता रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै हुनुहुन्छ ।

स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ ।चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको तीन हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउनु दुई मुलुकको सम्बन्ध विस्तारको बलियो सूचक हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रमुखसमेत रहेका सोङको नेपाल भ्रमणलाई चिनियाँ विज्ञहरूले दुई मुलुकको सम्बन्ध सुदृढीकरणको अर्को सूचकका रूपमा हेरेका छन् ।

चीनसँगको सम्बन्ध यही क्रममा विकास हुँदै गर्दा उसको सहयोगमा केरुङ हुँदै काठमाडौंसम्म रेल आउने र त्यही रेलमा चढेर चिनियाँ पर्यटक नेपाल भित्रिने वातावरण पनि तयार हुन सक्छ ।

त्यसैले नेपाल–चीन सम्बन्धलाई नेपाल–भारत सम्बन्धकै स्तरमा विकास गर्न हरसम्भव प्रयास हुनुपर्छ । खुला सिमानाको स्तरमा जान नसकिए पनि द्विपक्षीय लाभका अरू आयाममा नेपाल–चीन सम्बन्ध नेपाल–भारत सम्बन्धभन्दा भिन्न हुनुपर्ने कारण देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्