संविधान दिवस मनाउनुको गौरव



किरण गिरी

भोलि ३ गते पाँचौं संविधान दिवस। नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले यसै दिन संविधान घोषणा गरेको थियो। यो दिन नेपाल र हामी जनताको लागि खुशी र हर्षको दिन पनि हो।

अब विकास र समृद्धिमा जुट्नु हामी सबैको दायित्व हो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत सबै लोकतान्त्रिक पार्टीहरूलाई समेटेर अगाडि बढ्नु सरकारको प्रमुख दायित्व हो।

यद्यपि वर्तमान सरकार यसमा चुकिरहेको छ। त्यसैले भोलि संविधान दिवसकै दिनबाट दुई तिहाइको दम्भ र घमण्ड छोडेर सरकार सच्चिनु अत्यावश्यक छ।

नेपालको संविधानअनुसार संघीयता कार्यान्वयन जटिल भए पनि यसलाई अगाडि बढाउनुको विकल्प छैन। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भाग्य र भविष्य भएको हुँदा यसको सफल कार्यान्वयनमा नै संविधान सफल हुनेछ।

संघीयता कार्यान्वयनका चुनौतीहरूलाई सन्तुलित र परिपक्वरूपमा सामना गर्दै जानु जरुरी छ। २०५८ जेठ १९ गते दरबार हत्या काण्डपछि नेपाली जनताको मन र मस्तिष्कबाट राजतन्त्र हटिसकेको थियो।

सामन्ती र निरंकुश सोच र लोकतन्त्रप्रतिको दमन नै राजतन्त्र समाप्तिका आधार र कारणहरू बन्न पुग्यो। जनताको मन र मस्तिष्कमा गणतन्त्रको बीजारोपण त्यति बेला नै भैसकेको थियो।

२००७ सालमा नै विधानसभाको परिकल्पना गरिएको भए पनि त्यसको कार्यान्वयन ६ दशकपछि २०६४ सालमा सम्पन्न भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति छिमेकी मित्र रास्ट्र भारतसहित सबै राष्ट्रहरूको समर्थन रह्यो।

१२ बुँदे समझदारीदेखि संविधान घोषणाको एक दशक २०६२ देखि २०७२ सम्म मुलुक संक्रमण कालमा गुज्रिएको थियो। संविधान घोषणा, तीनै तहको निर्वाचनसँगै नेपालमा नियन्त्रित अस्थिरताको युग समाप्तितर्फ अगाडि बढेको छ।

यतिखेर कम्युनिस्ट सरकारको रबैया र जनचाहनाबीच तालमेल खान नसक्दा वर्तमान सरकार अलोकप्रिय बन्दै छ। अब मधेसवादी दलहरू, राप्रपा सुदृढ हुन सकेनन् भने कांग्रेस र कम्युनिस्ट दुई दलीय भूमिकाले प्रश्रय पाउने देखिँदै छ।

आगामी चुनाव कम्युनिस्टका लागि फलामको चिउरा हुन सक्ने देखिन्छ। यसको सानो परीक्षण आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा देखिन्छ नै।

चाहेर पनि, नचाहेर पनि नेपाली कांग्रेस बलियो लोकतान्त्रिक शक्तिको रूपमा स्थापित भैरहनेछ। यो उसको ऐतिहासिक र अन्तर्रास्ट्रिय लोकतान्त्रिक मान्यता हो।

देशमा सबै खाले आन्दोलन र परिवर्तनको नेतृत्व गरेको कांग्रेस नेपालमा गणतन्त्र ल्याउन र संविधान निर्माण गर्न अहम् भूमिका खेल्ने प्रमुख पार्टी हो।

परिवर्तनलाई पूर्णरूपमा आत्मसात् गर्न नसकेको र परम्पराप्रति स्पष्ट हुन नसक्नुका कारण राप्रपाको भविष्य गम्भीर संकटमा पर्ने देखिँदै छ। नेतृत्वप्रतिको लालचा, निरन्तर पार्टी विभाजन र सत्ता स्वार्थका कारण राप्रपा कमजोर हुन पुगेको हो।

हालै दुवै राप्रपा (राप्रपा र राप्रपा संयुक्त) ले संविधानसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेबाट नेपालको संविधान २०७२ सर्वस्वीकार्य भएको देखिन्छ।

प्रधानमन्त्री पद हस्तान्तरणका समय कम्युनिस्ट एकतामा अवरोध आउन सक्ने देखिन्छ। कम्युनिस्ट पार्टी एकता जटिल र पेचिलो बन्न पनि सक्छ।

तीनै तहको निर्वाचनका कारण नेपालको संविधान २०७२ कार्यान्वयन र जनताबाट समेत अनुमोदन प्राप्त गरिसकेको हुँदा अब पनि संविधानलाई कालो संविधान भन्नु नेपाली जनताकै अपमान गर्नु हो।

संविधान गतिशील दस्ताबेज हो। यो समयानुकूल संशोधन र परिमार्जन हुन सक्छ। हाम्रो संविधानले संशोधनको प्रावधानलाई आत्मसात् गरेको छ।

जनताका छोराछोरी राष्ट्रप्रमुख हुन पाउने प्रावधानसहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरेको हाम्रो संविधानसभाले संविधान बनाएको आज पाचौं वसन्त प्रवेश गरेको छ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति जनताको छोरो डा. रामवरण यादव भए भने हाल जनताकी छोरी विद्यादेवी भण्डारी नेपालको पहिलो महिला र दोस्रो राष्ट्रपति भएको अवस्था छ।

२४० वर्षदेखि निरंकुशताको जन्जिरमा पिल्सिएका नेपाली जनताको लागि यो महान् अवसर एवं गौरवको विषय हो। नेपाल सरकारले असोज २, ३ र ४ तीनै दिन दीपावली गरेर भव्यरूपमा संविधान दिवस मनाउन आमनेपाली जनतामा आह्वान गरेको छ।

एक सचेत र सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिक हुनुको कारण यो अभियानमा सरिक हुनु हामी सबैको दायित्व हो।

यस पाँचौं संविधान दिवसकै अवसरमा ऐतिहासिक संविधानसभाका सम्पूर्ण सभासदहरू, संविधानसभामा क्रियाशील सम्पूर्ण राजनीतिक दल, सबै सार्वभौमसत्ता सम्पन्न नेपाली जनतामा हार्दिक बधाई तथा शुभकामना !

(लेखक गिरी राप्रपा संयुक्तका केन्द्रीय प्रवक्ता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्