वन मन्त्रालय मातहतका अधिकारीको जिम्मेवारी हेरफेर



काठमाडौं, (नेस)।वन तथा वातावरण मन्त्रालयका मातहतका विभिन्न विभाग र निकायका अधिकारीको जिम्मेवारी हेरफेर भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वनस्पति विभाग, र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर भएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक डा. गोपालप्रकाश भट्टराईलाई महानिर्देशकको जिम्मेवारी तोकिएको छ।

विभागका महानिर्देशक मनबहादुर खड्कालाई राष्ट्रपति चुरे समितिको सदस्य सचिवमा सरुवा हुनुभएको छ भने चुरेका सदस्य सचिव डा. पेमनारायण कँडेल प्रदेश २ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ।

यही साताको मन्त्रीस्तरीय निर्णयले उहाँहरूको जिम्मेवारी हेरफेर भएको वन मन्त्रालयले जनाएको छ। वन्यजन्तु विभागमा दुईजना उप–महानिर्देशकको दरबन्दी भए पनि भट्टराईको स्थानमा अन्यलाई जिम्मेवारी तोकिएको छैन। तत्कालका लागि डा. रामचन्द्र कँडेल मात्र उपमहानिर्देशक रहनुभएको छ।

त्यसैगरी वनस्पति विभागको महानिर्देशकमा प्रदेश– ५ का सचिवका डा. धनञ्जय पौडेललाई सरुवा गरिएको छ। यसअघिका विभागका महानिर्देशक डा. सञ्जिवकुमार राई प्रदेश १ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा हुनुभएको छ।

प्रदेश १ र २ बाट मन्त्रालय तानिनुभएका नवराज काफ्ले र बद्री ढुंगानालाई वन विभागमा सरुवा गरिएको छ भने वन विभागका डा. राजेन्द्र केसीलाई मन्त्रालय तानिएको छ।

यसैबीच वन मन्त्रालय मातहतका विभिन्न राष्ट्रिय निकुञ्जमा कार्यरत उपसचिव (वार्डेन)हरूको पनि जिम्मेवारी हेरफेर भएको छ।

वन्यजन्तु विभागमा कार्यरत नारायण रूपाखेती चितवन राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा हुनुभएको छ भने चितवनका बेदकुमार ढकाल विभाग तानिनुभएको छ।

सगरमाथा निकुञ्जका प्रमोद भट्टराई बाँके र बाँकेका वार्डेन युवराज रेग्मीको सरुवा विभागमा भएको छ। त्यसैगरी विभागका भूमिराज उपाध्यायलाई सगरमाथा निकुञ्जको वार्डेनमा सरुवा हुनु भएको छ।

गत साउन २५को सचिवस्तरीय निर्णयले १८ जना उपसचिवको पदस्थापना गरेकोमा १३ जनाको जिम्मेवारी यसअघि कार्यरत कार्यालयमै तोकिएको वन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्