ऐतिहासिक बस्ती हराउँदै



सुनील महर्जन, काठमाडौं

काठमाडौंको धर्मस्थलीमा अहिले मौलिकता झल्किने एउटा पनि घर छैन। वैशशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबै घर ध्वस्त भएको थियो।

काठमाडौंको तारकेश्वरस्थित साविक धर्मस्थली गाउँमा हाल पूरै क्रंक्रिटको गगनचुम्बी घर ठडिएको छ। लीच्छिवीकालीन बस्ती अहिले क्रंक्रिटको जंगल जस्तो भएको छ। ढलान, पिलर उठाएका अवस्थामा देख्न सकिन्छ। पाटीमा ढलान देख्न सकिन्छ।

धर्मस्थली पुरानो नेवारी बस्ती भएकाले एकैनासका घर, आँखी झ्याल, नेवारी बस्तीको पहिचानकै रूपमा रहेको थियो। भूकम्पपछि सो बस्ती भत्कियो ।

भूकम्पको चार वर्ष नबित्दै अधिकांश मन्दिर–घर उठ्यो। तर, विडम्बना मौलिक, परम्परागत शैलीमा उठ्न सकेन। जुन लिच्छवीकालीन, मल्लकालीन शैलीका मठ–मन्दिर, पाटी–पौवा ती बस्तीका बनावट सबै फेरियो।

नेवारी बस्तीको ठाउँमा क्रंक्रिटका ढलान पिल्लर बनेर ठडियो। सिमेन्टको थुप्रो बनेर निस्कियो। सो बस्तीमा पुग्दा लाग्छ, यो सम्पदा बस्ती होइन। आधुनिकताको नाममा मौलिकता मासिएको छ।

बाटोको सुविधा पुगेका अधिकांश ठाउँमा आधुनिक निर्माण सामग्री पुगेकाले गाउँ–गाउँमा कंक्रिटका घर देखिन थालेका छन्।

यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण प्रविधि पनि विस्थापित भएको छ। काठमाडौंको धर्मस्थली गाविस यसैको एउटा उदाहरण बन्दछ।

भूकम्पपछि पुनर्निर्माण थाल्ने प्रायःले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन्। मल्लकालीन बस्ती ललितपुरको ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, लुभु, सिद्धिपुर, काठमाडौंको टोखा, कीर्तिपुरको पाँगा, नैकाप, भाजगंल र भक्तपुरको कोर बस्तीका स्थानीयबासीले नेवारी वास्तुकला शैलीका घर निर्माण गर्दा धेरै महँगो पर्ने भन्दै आधुनिक शैलीमा धमाधम पुनर्निर्माण थालेका छन्।

कास्की घान्दु्रक जम्मा ४० देखि ४५ वटा नेपाली शैलीमा निर्माण गरिएका घर हेर्नका लागि स्वदेशी र विदेशी पर्यटकको भीड लाग्ने गर्दथ्यो। अहिले १० प्रतिशत पनि नेपाली शैलीमा घर बनेका छैनन्।

भूकम्पपछाडि पुनर्निर्माणको क्रममा परम्परागत कला, शैली र स्थानीय स्रोत–साधनको प्रयोग गरेर आधुनिक सुविधायुक्त घरहरू न्यून संख्यामा बनेका केही उदाहरण हुन्। भूकम्प अगाडि परम्परागत मल्लकालीन शैलीमा बनेका घर पुनर्निर्माणको क्रममा ढलान गरेर निर्माण भइरहेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पपछि ४ लाख ३० हजार निजी आवास निर्माण भए पनि प्राचीन मल्लकालीन शैलीमा २ हजार ९ सय २४ वटा निजी आवास निर्माण भएको छ।

ललितपुर ७०, भक्तपुर १२ सय ७०, काठमाडौंमा १ हजार ८२, नुवाकोट ४ सय र दोलखामा १ सय २ वटा गरी जम्मा २ हजार ९ सय २४ वटा पुरानै शैलीमा निर्माण भएको प्राधिकरणले जनाएको छ।

यसले पुरानो शहरको अस्तित्व, बस्तीको मौलिकता परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदामा असर पर्ने परम्परागत घर निर्माणसम्बन्धी जानकार दिलेन्द्र श्रेष्ठले बताउनुभयो।

भूकम्पपछाडि सांस्कतिक भौतिक संरचना निर्माण गर्ने क्रममा पुराना कलाकौशल, स्थानीय साधन स्रोत प्रयोग नगर्दा प्राचीन शैली लोप हुने अवस्थामा पुगेको पनि उहाँको भनाइ रहेको छ।

यसमा संघ प्रदेशसँगै स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने उहाँको कथन रहेको छ। स्थानीय तहले मौलिक शैलीमा पुनर्निर्माण गर्ने थप अनुदान दिनुपर्ने पनि बताउँदै उहाँले भन्नुभयो– ‘सकेसम्म मौलिक शैलीमा घर निर्माण गर्नेलाई सहुलियत दिनुपर्दछ।’

मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा निजी आवास निर्माण गर्नेलाई सरकारले ३ लाखबाहेक थप ५० हजार प्रोत्साहनस्वरूप दिने गरेको छ।

शंखरापुर नगरपालिका, वडाले विशेष सहुलियत दिने नीतिले ललितपुरको खोकनामा धेरैले मौलिक शैलीमा घर निर्माण भने गरेका छन्।

त्यसै गरी समुदायकै प्रयासमा ललितपुरको पिलाछेंमा मौलिक शैलीमा घर निर्माण भएका छन्।‘पुनर्निर्माणलाई हामीले मौलिक कला, संस्कृति जर्गेना गर्ने गरी पनि अघि बढाउन सकिने अवसर थियो।

तर, त्यो अवसरले एकाधलाई छोडेर धेरैले गुमायौं।’ –ललितपुर महानगरपालिका वडा नं २१ खोकना बस्तीका वडाध्यक्ष रवीन्द्र महर्जनले भन्नुभयो।

ललितपुर महानगरपालिकाका इन्जिनियर हरिश्चन्द्र लामिछाने भन्नुभयो– ‘अहिले छनोटको सुविधा र सहजता का हिसाबले पिलर सिस्टमबाट घर बनाउन थालेका छन्।’

काठमाडौंसहितका जिल्लाका ती सम्पदा बस्तीको मौलिक विकास प्राधिकरणले गर्नेछ। पर्यटनको आधार बन्न सक्ने सांस्कृतिक बस्तीको काठमाडौंको साँखु, ललितपुरको खोकना, बुङमती, नुवाकोट दरबार क्षेत्र र आसपासको बस्ती, गोरखाको दरबार क्षेत्र र आसपासको बस्ती अनि दोलखा बजारको सम्पदा बस्ती निर्माणको गुरुयोजना प्राधिकरणले बनाइसकेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले मौलिक पहिचान कायम राख्दै पर्यटकीय आकर्षण थप्ने गरी काम भइरहेको बताउनुभयो।

स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरेर पुराना मल्लकालीन शैलीमा घरहरू बनाउन खोजे पनि सरकारले दिँदै आएको ३ लाख ५० हजार रुपियाँले निर्माण गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।

घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका हुन्।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको हो।

९० सालको महाभूकम्पले भत्किएका घरको पुनर्निर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झिकाएर सर्वसाधारणलाई वितरण गरेको जोशीले बताउनुभयो।

जोशीले भूकम्पपछि नै उपत्यकामा पहिलोपटक सिमेन्ट भित्रिएको बताउनुभयो।‘पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाएको पनि उहाँले जानकारी दिनुभयो।

नब्बे सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले आठ दशकको यात्रा तय गरिसकेको छ। यसअघिसम्म उपत्यकामा घर भनेकै ढुंगा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो।

यसबीचमा शहरी क्षेत्रका अधिकांश घर, भवन र भौतिक संरचनामा सिमेन्ट प्रयोग गरिएको छ। अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, इँटा, ब्लक, ढुंगा, टिन (जस्तापाता), स्टिल, आल्मुनियम, सिसा, प्लास्टिक जस्ता सामानबिना घर निर्माण असम्भव जस्तै भएको छ। सिमेन्टका घरलाई सम्पन्नतासँग जोडेर हेर्ने मनोविज्ञानका कारण नेपाली मौलिक घरले अस्तित्व गुमाउन थालेको छ।

पुस्ता दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घरहरू मौलिक र विशिष्ट देखिने गर्दछन्। पुस्तैनी परीक्षण हुुँदै आएका यस्ता घर भूगोल सुहाउँदो फरक ढाँचा र निर्माण सामग्रीबाट तयार पारिन्थ्योे।

पहिले अग्लो ठाउँमा घर र समथर ठाउँमा खेतीपाती गर्ने चलन थियो। अहिले जुनसुकै स्थानमा घर बनाउन थालिएको छ। संस्कृति र मौलिक परम्परागत सौन्दर्य छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाँगिएको छ।

‘इँटा, माटो र काठजडित घर ढलानभन्दा प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षले सुरक्षित पनि हुन्छ।’ –सम्पदाविद् दिलेन्द्र श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार पुराना मौलिक शैलीका घरमा झिंगटीका छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ।

‘त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ’, उहाँले भन्नुभयो– ‘यसले विभिन्न शासन कालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ। ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडोयाममा न्यानो र गर्मीमा शीतल हुन्छ।

त्यसैले भूकम्पले क्षति भएका घर पुनर्निर्माण गर्दा पुरानै मौलिक वास्तुकला शैलीमा निर्माण गर्न स्थानीयबासी र राज्य पक्षले विशेष चासो दिनुपर्ने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक डा. रोहित रञ्जितकारले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्