मन्त्रीलाई सत्ताधारी सांसदको प्रश्न:डेंगु प्रभावितलाई हेर्न अस्पताल जानुभो ?



नेपाल समाचारपत्र, काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले डेंगु नियन्त्रणमा आवश्यक कदम नचालेको भन्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन्।

‘समयमा नै सरकारले प्रभावकारी योजना सञ्चालन नगर्दा डेंगुको संक्रमणबाट नागरिक बढी संक्रमित भएको’ भन्दै सांसदहरूले मन्त्री यादवको आलोचना गरेका हुन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसदले डेंगु नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै जवाफ माग गरेका थिए।

सांसद कृष्ण गोपाल श्रेष्ठले बिहानदेखि नै बिरामी रगत जचाउन लाइनमा बस्दा पनि पालो नपाउने अवस्था रहेको बताउँदै स्वास्थ्यमन्त्रीलाई टेकु अस्पताल जानुभएको छ कि छैन भन्ने प्रश्न गर्नुभयो।

सांसद नवीना लामाले डेंगु महामारीका रूपमा फैलिँदासमेत मन्त्रालयले जिरो लेबलमा पनि काम गर्न नसकेको बताउनुभयो।

उहाँले डेंगु नियन्त्रण गर्न मन्त्रालयको कुनै योजना नै नदेखिएको बताउँदै स्वास्थ्य जस्तो संवेदशील विषयमा गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो।

बुधबार संसद्मा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताउँदै आत्तिनुपर्ने अवस्था नरहेको संसद्लाई जानकारी गराउनुभयो।

साधन–स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीका रूपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको दाबी गर्नुभयो।

डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधि र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको बताउँदै उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताउनुभयो।

साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले जानकारी दिनुभयो।

केही हप्तायता नेपालमा डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै–विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको उहाँले दाबी गर्नुभयो।

काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरिएको जानकारी दिँदै अस्पतालहरूमा बिरामीको संख्या घट्दै गएको बताउनुभयो।

जलवायु परिवर्तनको प्रभावको कारणले पनि डेंगु बढिरहेको बताउँदै उहाँले रोकथाम गर्नका लागि मन्त्रालयले शुरूदेखि नै अभियान नै सञ्चालन गरेको बताउनुभयो।

‘मन्त्रालयले चिकित्सकसहित जनशक्ति परिचालन गरेको छ, उपचार युद्धस्तरमा भइरहेको छ, मन्त्रालय सधैं तयारी अवस्थामै हुन्छ’, उपप्रधानमन्त्री यादवले भन्नुभयो– ‘डेंगु नियन्त्रणका लागि सरकारले पर्याप्त बजेट उपलब्ध गराएको छ।’

‘डेंगु नियन्त्रणका लागि जनचेतनाको कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्यकर्मी र धेरै संस्थालाई परिचालन गरिएको छ, डेंगुले राति टोक्दैन, दिउँसै टोक्छ, अहिले त लामखुट्टे मनाङ–मुस्ताङ पनि चढिसक्यो।’ –उहाँले भन्नुभयो।

‘लामखुट्टेको न पासपोट चाहिन्छ, न भिसा चाहिन्छ।’ –सांसदले उठाएको प्रश्न दिँदै मन्त्री यादवले भन्नुभयो।
सांसद कृष्ण गोपाल श्रेष्ठले राखेको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले एक घन्टाअघि मात्र टेकु गएर आएको जानकारी दिनुभयो।

नेकपाका सांसद विरोध खतिवडाले डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेवको स्थापना गरी अभियान सञ्चालन गर्न सरकारलाई व्यंग्यात्मक सुझाव दिनुभयो।

प्रतिक्रिया दिनुहोस्