नेपालमै पहिलोपटक कर्णाली प्रदेशले सुरू गर्याे  बीमा कार्यक्रम 



दिपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद्को जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम बुधबारदेखि लागू भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मनत्रालयले हरेक नागरिकको लागि विपद् बीमा कार्यक्रमको शुरुवात गरेको हो ।
बीमा कार्यक्रमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको बीमा कार्यक्रम अन्तर्गत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निःशुल्क बीमा सुविधा प्राप्त गर्नेछन । यस्तै, विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने सरकारले व्यवस्था गरेको छ । बीमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सामूहिक रूपमा गरिने बिमाको प्रिमिएमबापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले प्रदान गर्ने सबै खालका सेवासुविधा हरेक नागरिकले सरल रूपमा प्राप्त गर्नुपर्ने बताएका छन ।

कर्णालीवासीका लागि विपद् दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सबै प्रकारका सेवासुविधा सरलरूपमा जनता सम्म र्पुयाउनु सरकारको दायित्व भएको बताए । मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहतस्वरूप बीमा कार्यक्रम सुरु गरेको बताए ।

बीमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुःखको बेला सरकार आफ्नो साथमा रहेको अनुभूति गराउने विश्वास व्यक्त गरे । स्वास्थ्य बीमाको प्रभावकारिताका बारेमा जनताका धेरै गुनासा आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नसमेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्