चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या



ओखलढुङ्गा। ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् ।

साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ जनामध्ये आठ पुरुष, एक बालक र अन्य महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुुसार १३ जनाले झुण्डिएर र चार जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । आव २०७५/०७६ मा ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

यो सङ्ख्या अघिल्लो आवको भन्दा बढी हो । आव २०७४/०७५ मा ४१ र आव २०७३÷०७४ मा ३१ ले आत्महत्या गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार बर्सेनि जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । चालू आवको दुई महीनासहित तीन आवमा १५१ ले ओखलढुङ्गामा आत्महत्या गरेका छन् ।

आव २०७५/०७६ मा १० वर्षीय बालकसहित ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । २८ महिला र ३४ जना पुरुषले आत्महत्या गरेको श्रेष्ठको भनाइ छ । १६ वर्षमुनिका एक बालकसहित पाँच जना बालिका छन् ।

१६–२५ वर्षसम्मका १७ जना, २६–३५ को ११ जना, ३६–४५ को ७ जना, ४६–६० वर्ष का १४ जना र ६० वर्ष माथिका ११ जनाले आत्महत्या गरेका छन् । ४१ जनाले झुण्डिएर, २० जनाले विष सेवन र एक जनाले खोलामा हाम फालेर आत्महत्या गरेका छन् ।

नवदम्पतीदेखि दुलाहासम्मले गरे आत्महत्या

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका २२ वर्षीय नवीन परियारको खोटाङको रावाबेँसी गाउँपालिकाकी २१ वर्षीया गङ्गा परियारसँग गत जेठ २८ गते परम्पराअनुसार मागी विवाह भयो ।

विवाहपश्चात सम्बन्ध राम्रो थियो । दुवैका परिवार पनि खुशी थिए । विवाह गरेको करीब २० दिनपछि नवीन काठमाडौँ जानुभयो । एसइईको मौका परीक्षा दिने समयमा गङ्गाले सहयोगका लागि नवीनलाई घर बोलाउनुभयो ।

काठमाडौँबाट नवीन घर आएपछि गङ्गा मौका परीक्षा दिन माइती गाउँ खोटाङको रावाबेँसी जानुभयो । भदौ ४ गते आफूलाई लिन गङ्गाले नवीनलाई माइत बोलाउनुभयो । सोही दिन श्रीमती लिन हिँड्नुभएका नवीनको मोबाइलमा रावाखोलाको जलजलेटार पुग्दा ससुरालीबाट फोन आयो ।

नवीनलाई लागेको थियो कहाँ आइपुग्नुभयो भनेर श्रीमतीले फोन गरेको हुनुपर्छ । तर सोचे जस्तो भएन । ससुरालीबाट फोन गर्ने व्यक्तिले श्रीमती गङ्गाले झुण्डिएर आत्महत्या गरेको खबर सुनाए । घर लिन बोलाएकी श्रीमतीले आत्महत्या गरेको खबरले विक्षिप्त हुनुभएका नवीन जसोतसो ससुराली पुग्नुभयो ।

श्रीमतीको दाहसंस्कार गरेर फर्किनुभएका नवीनले पनि पत्नी वियोगकै पीडामा भदौ २२ गते आत्महत्या गर्नुभयो । श्रीमतीले आत्महत्या गरेको १८ दिन पछि नवीनले आत्महत्या गर्नुभएको हो ।

गङ्गाले आत्महत्या गर्नुको कारण नखुले पनि नवीनले भने पत्नी वियोगको पीडाले आत्महत्या गरेको खुलेको वडाध्यक्ष कृष्ण क्याप्छाकी मगर जानकारी दिनुभयो ।

आत्महत्या गर्नु अघि नवीनले लेखेको ‘सुसाइड नोट’बाट उक्त कुरा पुष्टि हुन्छ । मृत्यु भइसकेकी श्रीमतीलाई सम्बोधन गरेर परियारले सुसाइड नोटमा लेख्नुभएको छ, “प्यारी श्रीमती, तिमी मभन्दा अगाडि गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन ।”

घर सल्लाहमै माइत गएकी बुहारीले उतै आत्महत्या गरेपछि छोरा नवीनले पनि आत्महत्या गरेको नवीनका बाबु सोनु दर्जीको भनाइ छ । नवीन र गङ्गा सानुका कान्छा छोरा÷बुहारी हुनुहुन्थ्यो ।

गत फागुनमा मोलुङ गाउँपालिका–७ का २५ वर्षीय पासाङ शेर्पाको तीन दिनपछि विवाह गर्ने तयारी थियो । छिमेकी गाउँपालिकाकी एक युवतीसँग शेर्पाको सामान्य प्रेमपछि मागी विवाह हुने पक्का भएको थियो ।

आफन्त छरछिमेकीलाई विवाहको निम्तो कार्ड पासाङ आफैँले बाँड्नुभएको थियो । घरमा फेम्बर (शेर्पा समुदायको विवाहमा खाने कुरा) बनाउने मान्छे आएका थिए ।

विवाहको तयारी भइरहेको थियो । घरपरिवार विवाहको तयारीमा जुटेकै समयमा शेर्पाले मतानमा झुण्डिएर आत्महत्या गर्नुभयो । तोकिएको विवाह गर्ने दिनभन्दा तीन दिन अघि शेर्पाले आत्महत्या गरेको वडाध्यक्ष हेम सुनुवारले बताउनुभयो । शेर्पाले पारिवारिक बेमेलका कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

माथि उल्लेख गरिएका केही उदाहरणीय घटना मात्र हुन् । अन्य आत्महत्याका घटना पनि अपत्यारिला जस्ता सामान्य विषयमा कुरा नमिल्दा भएको पाइन्छ ।

चाहना पूरा नहुँदा आत्महत्या

मानसिक सन्तुलन ठीक नभएका, पारिवारिक बेमेल, मदिरा सेवन गरेर, रिसको आवेगमा, असफलता र नैराश्यका कारणले अधिकांशले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसका साथै गरीबी, अभाव, दीर्घरोग तथा इच्छा पूरा नहँुदा र आवेशमा समेत केहिले अल्पायुमा आफैँले ज्यान फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

धेरैजसो आफूले चाहेको कुरा पूरा गर्न नसकेका कारण आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । “मान्छेले निकै ठूलो कुरा चाहना गरेको हुन्छ तर सहानुभूति पाउँदैन अनि उ मानसिकरुपमा विक्षिप्त हुन्छ र आत्महत्याको बाटो रोज्छ”, प्रहरी निरीक्षक श्रेष्ठले रासससँग भन्नुभयो, “धेरैजसो आत्महत्याका कारण नै ठूलो चाहना र सानो प्राप्ती देखिन्छ । त्यसबाहेकका कारण थोरै छन् ।”

जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिका मध्ये अघिल्लो आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा १४ जना र सबैभन्दा कम लिखु गाउँपालिकामा दुई जनाले आत्महत्या गरेका छन् ।

यसका साथै मानेभञ्ज्याङमा १२, चम्पादेवी र खिजीदेम्बा गाउँपालिकामा ९–९, चिशंखुगढीमा ७, मोलुङमा ६ र सुनकोशी गाउँपालिकामा तीन जनाले आत्महत्या गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्