राजनीतिक विवादले विद्यालयको पठनपाठन ठप्प



सुभेन्द्र दास,लहान । आइतबार बिहान १० बजे, कक्षा २ का छात्र वीरेन्द्र सदाय कपी लिएर आधारभूत विद्यालय धन्छबार पुगे। उनीसँगै अरू विद्यार्थी पनि फाटफुट आउन थाले। शिक्षक आएका थिएनन्।

वीरेन्द्रकी हजुरआमा मरनी सदाय विद्यालयको बाटो हुँदै घर जाँदै थिइन्। नाति देखेपछि भनिन्, ‘बौवा चर चलु, पढाइ नै होइछै’ (बाबु जाऊँ, पढाइ हुँदैन) वीरेन्द्र घर फर्केनन्। साथीभाइसँग विद्यालयमै खेल्न थाले।

‘राजनीतिक विवादले विद्यालयको पठनपाठन ठप्प छ। विद्यार्थी पढ्न जानछाडेका छन्,’ अभिभावक राधेदेवी रामले भनिन, ‘दलित गरिब पढ्ने विद्यालय राजनीति अखडा बन्दैछ।’ विद्यालयमा १७८ जना अध्ययनरत छन्। तीमध्ये १०२ दलित छन्।

शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दा पनि यहाँ विद्यार्थीले किताब पाएका छैनन्। ‘न त पुस्तक पायौं न छात्रवृत्ति,’ कक्षा ४ आनन्द रामले भने, ‘पढाइ पनि नियमित हुँदैन।’ शिक्षक नियमित रुपमा विद्यालय नआउने गरेको उनले सुनाए। पछिल्लो एक वर्षदेखि लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छबारस्थित उक्त विद्यालय व्यवस्थापन समिति गठनमा विवाद छ। सोही कारण शैक्षिक अवस्था अस्तव्यस्त छ। नियमित पढाइ हुँदैन।

विद्यार्थीले छात्रवृत्ति र पाठ्यपुस्तक पाएका छैनन् भने शिक्षकले तलब नपाएको महिनौं भयो। विद्यालयको खातापाता गाउँपालिकाले रोक्का गरेको छ। खाजा कार्यक्रम बन्द छ।

व्यवस्थापन समितिको म्याद ०७५ असारमा सकियो। मंसिरमा अर्को समिति गठन प्रक्रिया सुरु भयो। अभिभावक भेलाले समिति गठनका लागि हरिप्रसाद सदाय, जलासी देवी सदाय, अर्जुन मण्डल र बबिता कुमारी दास सदस्य चयन गर्योे। पूर्णसमिति बनाउन १६ गते बैठक बस्ने कार्यक्रम तय भयो।

प्रधानाध्याक तारणीप्रसाद चौधरीले ती सदस्यबाहेक हीरालाल यादव र इन्द्रदेव ठाकुरलाई बैठकमा बोलाए। त्यो थाहा पाएका सदस्यले गाउँपालिका गुहारे
गाउँपालिकाले मनोनीत सदस्यमा छेदीलाल राम र सियावती सदायलाई पठायो।त्यसपछि ०७५ पुस २७ गते बैठक बसी समिति पूर्ण बनाउने निर्णय भयो।

प्रधानाध्यापक चौधरी विश्वम्भर शर्मालाई निमित्त दिएर बिदामा बसे। अभिभावक, समितिका सदस्य, विद्यालय निरीक्षक र गाउँपालिकाको प्रतिनिधि भेलाले हरिप्रसाद सदाय अध्यक्षमा चयन भए। सदायलाई अध्यक्ष बनाउने निर्णय पुस्तिकामा निमित्त प्रधानाध्यापक शर्माले हस्ताक्षर गरेका छन्।

समिति गठन भएको अर्को दिन तत्कालीन निमित्त शर्माले वडाध्यक्ष विद्यानन्द साहलाई निवेदन दिए। उनले आफूले करकापमा हस्ताक्षर गरेको निवेदनमा लेखेका छन्। वडाध्यक्षले विद्यालयलाई व्यवस्थापन समिति कार्यान्वयन नगर्न पत्र लेखे। अनि विद्यालय विवादमा गाउँपालिका अध्यक्ष रामवल्लभ साह र वडाध्यक्ष विद्यानन्द साह दुई कित्तामा बाँडिए।

प्रधानाध्यापक चौधरी वडाध्यक्षका पक्षमा छन् व्यवस्थापन समिति अध्यक्ष सदाय गाउँपालिका अध्यक्षका पक्षमा। गाउँपालिका अध्यक्ष समाजवादी र वडाध्यक्ष कांग्रेसका हुन्।विवादकै कारण विद्यार्थी उपस्थिति घट्दै गएको प्रधानाध्यापक चौधरीले बताए।

उनी आफ्नो अनुपस्थितिमा गठन भएको व्यवस्थापन समिति नमान्ने अडानमा छन्। वडाध्यक्ष साह भने नियमपूर्वक समिति गठन नभएको बताउँछन्। विद्यालयको खाता सञ्चालनमा नरहेको र पाठ्यपुस्तकका लागि रकम माग नगरेको गाउँपापिलका अध्यक्ष साहले बताए।

प्रतिक्रिया दिनुहोस्