भोजमा दलितमाथि विभेद



सुभेन्द्र दास, लहान ।सिरहा नगरपालिका–११ भलुवाहीमा मुनिया कामतीको घरमा गत बुधबार भोज थियो। उनले गाउँका सबैलाई निम्तो गरे। निम्तो पाएर भोजमा दलित समुदायका विरेन्द्रकुमार महरा(चमार) पनि आए। तर उनलाई कामती जातिको माइन्जन(मुखिया)हरुले सँगै बसेर भोज खान दिएनन्।

कामतीले बुबा बितेको नवौँ दिनमा भोज गरेका थिए। मृत्यु कर्ममा यहाँका परम्परा अनुसार भोज गर्नुपर्छ। ‘गाउँका सबै लाइनमा बसेकै ठाउँमा भोज खानबसे’ विरेन्द्र कुमारले भने, ‘त्यतिकैमा कामती जातिको जातीय माइन्जन दुखी कामती आएर खान दिएको पात खोसेर भगाए।’ खान लागेको थाल खोसेर अपमान भएपछि भोज नखाएरै उनी फर्के।

गाउँमा गैरदलितले भोजको निम्तो दिए पनि सँगै बसेर कहिले खान नदिएको उनले गुनासो गरे। ‘निम्तो दिएर बोलाउँछन्। तर खाने बेलामा अलगै बसाउँछन्’ उनले भने, ‘पहिले आफू खान्छन्, सबैले खाएपछि मात्रै हामीलाई दिन्छन्।’

सामूहिक भोजमा सँधै अपमानित हुनुपरेको उनले दुखेसो पोखे। आफूमाथि छुवाछूतको घटना भएपछि प्रहरीमा उजुरी दर्ता गराएको उनले जानकारी दिए।
घटना भएको अर्कोदिन नै प्रहरीमा उजुरी गर्दा गाउँमा मिलापत्र गर्न दववाआउन थालेको विरेन्द्रका बुबा गणेशी महराले सुनाए।

‘छोरासँग दुव्र्यवहार भएको थाहा भएपछि हामी भोज खान गएनौं’ उनले भने, ‘कानुनी व्यवस्था फेरिए पनि हामी दलितमाथि गरिने व्यवहार अझैं परिवर्तन भएको छैन।’ आफूलाई घटनाबारे केही थाहा नभएको घरपट्टि मुनिया कामतीले बताए। ‘भोज खान निम्तो दिएका थियौं’ उनले भने, ‘म कर्तामा बसेको थिएँ। कतिबेला के घटना भयो मलाई थाहै भएन।’

खाना नखोसेर कामती समुदाय भोज खाइरहेको बेला विरेन्द्रलाई अलि छेउ लाग्न मात्रै भनेको माइन्जन दुखी कामती बताउँछन्। सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार पीडितको जाहेरी दर्ता गरिएको छ। प्रहरी टोली घटना स्थलमा खटाइएको थियो। ‘जाहेरीको आधारमा छानबिन अघि बढाएका छौँ दोषीमाथि कारबाही हुन्छ। ’उनले भने उनले भने ।

प्रतिक्रिया दिनुहोस्