अर्घाखाँचीको प्रचलित ऐतिहासिक भैरव नाच काठमाडौंमा प्रदर्शन गर्ने तयारी पूरा



काठमाडौं । अर्घाखाँचीको प्रचलित ऐतिहासिक भैरव नाच काठमाडौंमा प्रदर्शन गर्नका निम्ति तयारी पूरा भएको छ । नेवार सम्पर्क समिति अर्घाखाँची–काठमाडौंको आयोजना तथा नेवाः समाज अर्घाखाँची–रुपन्देहीको प्रस्तुति रहने नाचको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गर्न लागिएको सो नाच काठमाडौंमा पहिलोपटक प्रदर्शन गर्न लागिएको हो । ‘प्रायोजक, शुभेच्छुकहरुको सहयोगका कारण ऐतिहासिक मौलिक नाच आयोजना गर्न सम्भव भएको हुँदा प्रवेश निःशुल्क गरिएको छ ।’ अध्यक्ष श्रेष्ठले भने–‘अर्घाखाँचीको ऐतिहासिक, मौलिक कला र संस्कृतिका रुपमा रहेको भैरव नाच पछिल्ला दिनमा लोपन्मुख रहेको छ ।

नयाँ पुस्तालाई संस्कृति, पराम्पराको हस्तान्तरण तथा आफ्नो पहिचान प्रस्तुत गरिने भएकाले काठमाडौंमा नाच आयोजना गरिएको हो ।’

करिब पाँच दर्जन भैरव सदस्यको सहभागिता रहने र झण्डै चार घण्टासम्म सञ्चालन हुने यस नाच आयोजना गर्नका लागि ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नाच एक दिनमात्रै प्रदर्शन गरिने भए पनि भैरव सदस्यको यातायात, बसोबास, पूजालगायत तयारी खर्चसमेत जोड्दा आयोजना खर्च बढी देखिएको श्रेष्ठको भनाइ छ ।

मौलिक कला, संस्कृतिलाई पर्यटन प्रवद्र्धनसँग पनि जोडेर नाच आयोजना गरिएको हुँदा नेपाल पर्यटन बोर्डलगायतका सरोकार पक्ष, निजी क्षेत्र र शुभेच्छुकहरुको सहयोग प्राप्त भएकाले आगामी वर्षमा पनि यो नाच आयोजना गर्न हौसला मिलेको आयोजक समितिका सदस्य मित्रलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्