बक्सिङतर्फ खेलाडी छनोट पूरा



नेपाल समाचारपत्र, काठमाडौ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मंगलबार बक्सिङमा ८ गरी कूल १६ खेलाडी छनोट भएका छन्।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो।

पुरुषततर्फ ४९ केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपीएफका पुरन राई र ६९ केजीमा एपीएफका विकास लामा छनोट भएका छन्।

फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाएका थिए। विकासले भने फाइनलमा प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश बनाए।

पुरुष ७५ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए।

दीपकले फाइनलमा प्रदेश–३ का भूमीलाल दिवसलाई ५–० ले पराजित गरेका थिए। मनोहरले आर्मीका गणेश प्रधानमाथि ३–२ को कठिन जित निकालेका थिए।

महिलातर्फको ५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराइन्।

५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन्। ६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन्। उनले फाइनलमा एपीएफकी विनिता थापामगरलाई ३–२ ले स्तब्ध पारेकी थिइन्।

अघिल्लो दिन पुरुषततर्फ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए।

महिलाततर्फ भने ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए।

प्रतिक्रिया दिनुहोस्