हेटौंडामा ‘मिस्टर मकवानपुर’



हेटौंडा, (नेस)।असोज ९ गते हेटौंडामा तेस्रो संस्करणको ‘मिस्टर मकवानपुर’ प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो। मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा प्रतियोगिता हुने भएको हो।

‘तेस्रो मिस्टर मकवानपुर गर्ने गरी तयारी अघि बढाएका छौं,’ कार्यक्रम संयोजक सुजन श्रेष्ठले भने–उपाधि जित्नेले मोटरसाइकलसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

विधागतरूपमा प्रथम हुनेलाई नगद १० हजार रुपियाँसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ। ५ देखि ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब ३५ जनाले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रममा महिलाको मैत्रीपूर्ण प्रतिष्पर्धा हुने आयोजक मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ अध्यक्ष राजेश भेटवालले जानकारी दिए। कार्यक्रममा राष्ट्रियस्तरका निर्णायकहरु आउनेछन्।

‘मिस्टर मकवानपुर सकिएपछि राष्ट्रियस्तरको कार्यक्रम गर्ने योजना छ,’ भेटवालले भने– ‘यस्ता कार्यक्रममा स्थानीय तहबाट सहयोग हुने अपेक्षा लिएका छौं।’

‘मिस्टर मकवानपुर’ प्रतियोगिताका लागि करिब १० लाख खर्च अनुमान गरिएको छ। प्रायोजक र टिकटबाट खर्चको व्यवस्थापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्